बाँके कार्तिक २८ गते।
नेपालगञ्जमा यातायात व्यवस्था कार्यालय कोहलपुर सार्ने तयारीप्रति जनता समाजवादी पार्टी (जसपा) बाँकेले विरोध गरेको छ। पश्चिम नेपालको पुरानो र ऐतिहासिक सहर, पछिल्ला वर्षहरूमा सरकारी कार्यालयहरूको अनियन्त्रित स्थानान्तरणका कारण आफ्नो पहिचान र महत्त्व गुमाउँदै जान थालेको छ। संघीयता पश्चात विभिन्न बहानामा सरकारी कार्यालयहरू अन्यत्र सार्ने क्रम बढ्दै गर्दा यसले स्थानीय जनतामा निराशा र आक्रोश सिर्जना गरेको छ।
हालसालै यातायात व्यवस्था कार्यालय बाँकेलाई कोहलपुर सार्ने तयारीप्रति जनता समाजवादी पार्टी (जसपा) बाँकेले कडा विरोध जनाउँदै पार्टीले यस निर्णयले नेपालगञ्जको ऐतिहासिक पहिचान मेटाउने षड्यन्त्रको सङ्केत गरेको बताउँदै सरकारी कदमप्रति गम्भीर पार्टीको ध्यानाकर्षण भएको छ।
नेपालगञ्ज लुम्बिनी प्रदेश मात्र नभएर सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि पनि शैक्षिक, स्वास्थ्य र व्यापारिक केन्द्रका रूपमा परिचित छ। यहाँको यातायात व्यवस्था कार्यालयले लामो समयदेखि स्थानीय तथा छिमेकी जिल्लाका नागरिकहरूलाई सहज सेवा प्रदान गर्दै आएको छ।
कार्यालय अन्यत्र सार्दा नागरिकलाई झन्झटिलो यात्रा र प्रक्रिया भोग्नुपर्ने मात्र नभएर, सेवामा ढिलासुस्ती हुने सम्भावना पनि रहेको जसपाको भनाइ छ। जसपा बाँकेका अध्यक्ष दुर्गाप्रसाद बर्माले कार्यालय स्थानान्तरणले स्थानीय व्यवसाय र रोजगारमा प्रतिकूल असर पर्ने भन्दै, यो कदमले नेपालगञ्जको अर्थतन्त्रलाई कमजोर बनाउन सक्ने बताएका छन्।
अध्यक्ष बर्माका अनुसार, यातायात कार्यालयलाई नेपालगञ्जबाट हटाइएमा यहाँका व्यवसायी, उद्यमी, साना व्यवसाय सञ्चालन गर्नेहरू र तिनका परिवारले सिधा असर भोग्नुपर्नेछ। कार्यालय सारिँदा सेवा प्रक्रियामा जटिलता बढ्ने, जनतामा असन्तोषको वातावरण सिर्जना हुने र प्रशासनिक कामकाजमा पनि समस्या उत्पन्न हुने सम्भावना रहेको उनले औंल्याएका छन्।
विगतमा भएको राजनीतिक सहमति अनुसार यातायातको ट्रायल सेन्टर कोहलपुरमा रहने र कार्यालय भने नेपालगञ्जमै रहने सहमति भएको जसपा बाँकेले जनाएको छ। यस निर्णयलाई वैज्ञानिक ठहर गर्दै जसपाले सरकारलाई उक्त सहमतिको पालना गर्न र नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै मात्र निर्णय लिन आग्रह गरेको छ। पार्टीले अन्य राजनीतिक दलहरू, नागरिक समाजका अगुवा, उद्योगी, व्यवसायी, र सञ्चारकर्मीहरूलाई पनि एकजुट भई आवाज उठाउन आह्वान गरेको छ।
यदि लुम्बनी प्रदेश सरकार निर्णय फिर्ता नलिएमा जसपा बाँकेले सडक संघर्ष गर्ने विज्ञप्ति मार्फत चेतावनी पनि दिएको छ। पार्टीको धारणा अनुसार नेपालगञ्जको विकास, सहरको प्रतिष्ठा र स्थानीय जनताको पहुँचलाई सुनिश्चित गर्नका लागि यातायात व्यवस्था कार्यालय नेपालगञ्जमै कायम रहनु आवश्यक देखिन्छ ।