बाँके कार्तिक २८ गते।
नेपालगन्ज, बाँकेको यातायात व्यवस्था कार्यालयलाई कोहलपुर स्थानान्तरण गर्न लागिएको खबरपछि नेपालगन्जका स्थानीय तह, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरूले यसको विरोध गर्न थालेका छन्। जसपा नेपाल बाँकेले स्थानीय जिल्ला प्रशासन कार्यालय बाँके मार्फत लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै यातायात कार्यालयको स्थानान्तरण तत्काल रोक्न माग गरेका छन्।
जसपा बाँकेका अध्यक्ष कौशल कुमार धोबीले नेपालगन्जमा रहेका कतिपय सरकारी कार्यालयहरू प्रदेश संरचनापछि सुर्खेत र बुटवल स्थानान्तरण भइसकेको उल्लेख गर्दै अहिले बाँकी रहेका कार्यालयलाई पनि अन्यत्र स्थानान्तरण गर्न खोजिएकोप्रति असन्तोष व्यक्त गरेका छन्। उनले भने, “नेपालगन्जलाई रित्ताउने तथा यहाँका स्थानीय जनताको पहुँचबाट सरकारी सेवा हटाउने कार्य रोक्न सरकारलाई सचेत गराइएको छ।” उनले आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिए।
नेपालगन्ज उप–महानगरपालिकाले यातायात व्यवस्था कार्यालयको स्थायी भवनका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको अवस्थामा कार्यालयलाई कोहलपुर सार्न खोजिनु गैर–व्यवहारिक कदम भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले पनि आफ्नो असहमति जनाएका छन्। यातायात व्यवस्था कार्यालय अहिले बाँकेको एक बंकिगाउँमा भाडाको घरमा रहेको छ। उप–महानगरपालिकाले जग्गा दिने भनिसकेपछि पनि यसलाई कोहलपुर सार्न खोज्नु जनतालाई अप्ठेरो पार्ने कार्य भएको उनीहरूको तर्क छ।
बुधवार जसपाले नेपालगन्जको बी.पी. चौकमा विरोध रेलीसमेत गरेको थियो। उक्त विरोध कार्यक्रममा लुम्बिनी प्रदेश सभा सांसद अम्बिका काफ्ले, नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर कमरुद्दिन राई, जसपा नेपालग बाँकेका पार्टी सचिव अजय वर्मा, लुम्बिनी प्रदेशकी महिला नेतृ बेबी तबस्सुम खुशबु श्रीवास्तव जसपा नेपालका नेता बाबु खाँ, नेता इस्रत अली मुकेरी, लगायतका ५० भन्दा बढी युवाहरूको उपस्थिति थियो। उनीहरूले विरोध प्रदर्शन गर्दै सरकारले नागरिक सुविधालाई हटाएर स्थानीय जनतालाई सेवा दिने कार्यालयलाई अझ टाढा लैजाने कार्य अस्वीकार्य भएको बताए।
यातायात व्यवस्था कार्यालयको स्थानान्तरणका कारण नेपालगन्जका नागरिकलाई सरकारी सेवामा पहुँचका लागि लामो दूरी तय गर्नुपर्ने अवस्था आउने भन्दै स्थानान्तरणको प्रक्रिया अगाडि नबढाउन सरकारलाई अनुरोध गरिएको छ। नेपालगन्जको आर्थिक र व्यापारिक गतिविधिमा समेत असर पर्ने चिन्ता रहेको उनीहरूको भनाइ छ। स्थानान्तरणको विरोधमा जसपा नेपाल बाँकेले अन्य राजनीतिक दलहरू र स्थानीय तहसँग सहकार्य गरेर थप दबाबमूलक कार्यक्रम अघि बढाउने तयारी गरिरहेको जानकारी दिएको छ।
नेपालगन्ज रित्तिन नदिन र स्थानीय जनताको सेवासुविधा पहुँचमा राख्न जसपा नेपाल बाँकेले प्रदेश सरकारलाई सचेत गराएको छ। जनतालाई झन अप्ठ्यारो हुने गरी सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयलाई टाढा लैजानु भनेको आम जनताको अधिकारमाथि हस्तक्षेप भएको उनीहरूको तर्क छ। यसै सन्दर्भमा, नेपालगन्ज उप–महानगरपालिकाले पनि यस मुद्दामा गम्भीरता देखाउँदै तत्काल समस्या समाधानका लागि सहकार्य गर्ने बताएको छ।
स्थानान्तरणको प्रक्रियामा सरकारले स्थानीय जनताको आवाज र आवश्यकतालाई प्राथमिकता दिनुपर्ने र अन्यत्र लैजानु अघिल्लो विकल्पहरू विचार गर्नुपर्ने मागसहित विरोध जारी राखिएको छ।