नेपालगञ्ज कार्तिक २६ गते।
नेपालगञ्जमा दुर्लभ वन्यजन्तु संरक्षण तथा उद्धार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। नेपालगञ्ज वडा नम्बर १०, गणेशमान चौक स्थित साथी कृष्ण काटेजको हालमा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सर्प उद्धारकर्ता शालिकराम पाठकको आयोजनामा सोमवार उक्त कार्यक्रम गरिएको हो। दुर्लभ वन्यजन्तु संरक्षण तथा उद्धार सम्बन्धी नेपालगञ्ज उपमहानगरपालिकाका भित्र वडाहरुका युवा विद्यार्थी र स्थानीयलाई सुसुचित गर्न यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
डिभिजन वन कार्यालय बाँकेका योजना अधिकृत बाबुराम भट्टराईको प्रमुख आतिथिमा कार्यक्रम सुरु गरिएको थियो। प्रमुख अतिथि भट्टराईले दुर्लभ वन्यजन्तुहरूको संरक्षण र उद्धारको महत्त्वमाथि चर्चा गर्दै यसको आवश्यकता तथा चुनौतीहरूको बारेमा धारणा राख्नुभयो। सर्प उद्धारकर्ता शालिक राम पाठकले कार्यक्रममा विभिन्न प्रकारको सर्पको बारेमा विस्तृत जानकारी दिनुभयो। उहाँले नेपालको विभिन्न क्षेत्रमा पाइने सर्पहरूको प्रजाति, तिनका विशेषता तथा तिनलाई कसरी सुरक्षित रूपमा उद्धार गर्ने भन्ने विषयमा जानकारी दिनुभयो।
त्यसैगरी, डिभिजन वन कार्यालय बाँकेका रेन्जर यम रावतले पनि कार्यक्रममा वन्यजन्तु संरक्षणको महत्त्वलाई जोड दिनुभयो। उहाँले नेपालमा मात्र नभई विश्वभर नै दुर्लभ वन्यजन्तुको संरक्षणका लागि अपनाइएका उपायहरूको बारेमा चर्चा गर्नुभयो। रावतका अनुसार विश्वभर ३५ प्रकारका सर्प पाइन्छन् भने नेपालमा मात्र ८४ प्रजातिका सर्प रहेका छन्। उहाँले केही विषालु र केही गैरविषालु सर्पहरूको बारेमा पनि उल्लेख गर्दै तिनलाई कसरी चिन्न सकिन्छ र कसरी उद्धार गर्न सकिन्छ भन्ने जानकारी दिनुभयो।
सो अवसरमा साईगाउँ प्रहरी चौकीका इन्चार्ज लक्ष्मीप्रसाद कडेलले सर्प उद्धारको कार्यमा स्थानीय प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभयो। उहाँले सर्प तथा अन्य दुर्लभ वन्यजन्तुहरूको उद्धारमा समुदाय र प्रहरीबीचको सहकार्य महत्त्वपूर्ण रहेको कुरा बताउनुभयो। उहाँले स्थानीय जनतालाई वन्यजन्तु संरक्षण र उद्धारको लागि सुसुचित गराउन यो कार्यक्रमले निकै सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेका योजना प्रमुख बाबुराम भट्टराई, रेन्जर एम. रावत, सामुदायिक प्रहरी बाँकेका अध्यक्ष दिपेन्द्रकुमार जोशी, लागू औषध विरुद्ध परामर्श केन्द्र बाँकेका सचिव राम प्यारे वर्मा, साईगाउँ प्रहरी चौकी इन्चार्ज लक्ष्मीप्रसाद कडेल, संचारकर्मी, जिल्ला वन कार्यालयका वनरक्षक प्रतिनिधि, तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।
यस अन्तरक्रिया कार्यक्रमले दुर्लभ वन्यजन्तु संरक्षणमा सहयोग पुर्याउने आशा गरिएको छ। संरक्षणका लागि कानुन मात्रै पर्याप्त हुँदैन, स्थानीय समुदायमा अपनत्व र सहभागिता आवश्यक छ। सामुदायिक स्तरमा जनचेतना अभिवृद्धि भएमा वन र वन्यजन्तुहरूको संरक्षणमा ठूलो मद्दत पुग्ने विश्वास यस कार्यक्रममा व्यक्त गरिएको थियो।