बाँके कार्तिक २० गते।
जनता समाजवादी पार्टी नेपालका युवा नेता समसुलहक राई आज नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ। उहाँले मधेस आन्दोलनदेखि सुरु गरेको राजनीति मधेसी जनअधिकार फोरम हुँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) सम्मको लामो राजनीतिक यात्रा तय गर्नुभएको थियो। विभिन्न राजनीतिक मोर्चामा लामो समय बिताएपछि राईले नेपाली कांग्रेसको सदस्यता ग्रहण गर्नुभएको हो। पार्टीको भातृ संगठन नेपाल मुस्लिम संघले आयोजना गरेको एक कार्यक्रममा उहाँले औपचारिक रूपमा कांग्रेसमा प्रवेश गर्नुभएको हो।
समसुलहक राई लुम्बिनी प्रदेश जसपा नेपालको सदस्य र पूर्वमन्त्री इस्तियाक राईका स्वकीय सचिव समेत रहिसक्नु भएको व्यक्ति हुन्। उहाँले जसपा नेपालमा लामो समयदेखि योगदान गरिरहे पनि केही समयअघि राजनीतिक रूपमा कुनै पार्टीमा खासै सक्रिय रहनुभएको थिएन। उहाँले २०७९ सालको संघीय चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा भाग लिनुभएको थियो, तर पछिल्लो समय पार्टीगत राजनीतिमा संलग्न हुनु भएको थिएन।
नेपाली कांग्रेसमा राईको प्रवेशलाई कांग्रेस पार्टीले ठूलो महत्वका साथ हेरिरहेको छ। कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ बाँकेले आयोजना गरेको नेता-कार्यकर्ता भेटघाट कार्यक्रममा राईले पार्टीमा प्रवेशको घोषणा गर्नुभएको हो। उहाँको पार्टी प्रवेशसँगै कांग्रेसले मधेस र मुस्लिम समुदायसँगको सम्बन्ध थप सुधार हुने विश्वास लिएको छ। कार्यक्रममा सहभागी कार्यकर्ताहरूले उहाँलाई स्वागत गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठोरले समसुलहक राईलाई पार्टीको औपचारिक सदस्यता प्रदान गर्नुभएको थियो। नेपाली कांग्रेसका बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राठोरले राईलाई कांग्रेसमा स्वागत गर्दै उहाँको राजनीतिक यात्रा र योगदानको प्रशंसा गर्नुभयो। राईको प्रवेशले पार्टीलाई थप विविधता र नयाँ ऊर्जा मिल्ने उहाँले बताए।
कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले राईको यो कदमले मधेसमा कांग्रेसको साख बढ्ने र आगामी चुनावमा पार्टीको पकड बलियो हुने विश्वास व्यक्त गरे। राईको प्रवेशलाई कांग्रेसले पार्टीलाई नयाँ उचाईमा लैजाने अवसरको रूपमा हेरेको छ। यसले मधेसी समुदायमा कांग्रेसको पहुँचलाई विस्तार गर्ने र पार्टीमा नयाँ जोश भर्ने अपेक्षा गरिएको छ।
राईले कांग्रेसमा प्रवेश गरेर आफूलाई नयाँ चुनौती र अवसरका रूपमा लिनुभएको बताए। उहाँले भने, “म मेरो अनुभव र ऊर्जा नेपाली कांग्रेसको हितमा प्रयोग गर्न चाहन्छु।” नेपाली कांग्रेसले आगामी दिनहरूमा मधेस र मुस्लिम समुदायमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लैजाने योजना अघि बढाएको छ, जसमा राईजस्ता नेताको योगदान महत्वपूर्ण हुने विश्वास गरिएको छ।