नेपालगञ्ज कार्तिक १८ गते ।
बाँके जिल्लाको पचपोखरा क्षेत्र अहिले स्याउ तस्करीको हटस्पट बनेको छ। स्थानीय स्रोतका अनुसार, यस क्षेत्रबाट दैनिक सयौं कार्टुन स्याउ तस्करी गरी नेपालगञ्ज पुर्याउने क्रम तीव्र भइरहेको छ। भारतबाट स्याउ ल्याएर नेपालमा छिराउने काममा सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रत्यक्ष सहयोग रहेको कुरा स्थानीयले दाबी गरेका छन्। उनीहरूका अनुसार, तस्करहरूले प्रहरीलाई ठूलो रकम दिएर सिमा क्षेत्रमा सहजै आवागमन गर्न पाएका छन्।
पचपोखरा क्षेत्रका चर्चित तस्करहरूले प्रहरीसँगको सम्बन्धको फाइदा उठाउँदै, साइकल र मोटरसाइकलको प्रयोग गरी प्रतिदिन सयौं कार्टुन स्याउ ल्याउने गरेका छन्। खासगरी, पचपोखरादेखि नदाईगाउँ हुँदै परसपुर नजिकैको गोदाममा स्याउ भण्डारण गरिन्छ, जहाँबाट उक्त स्याउ नेपालगञ्जको फलमण्डीमा पुर्याउने काम भइरहेको छ। यस प्रक्रियामा प्रहरी तथा सीमा सुरक्षा निकायको संलग्नता रहेको चर्चा व्यापक छ, तर माथिल्लो स्तरका अधिकारीहरूले आर्थिक चलखेलका कारण यसबारे मौनता साधेका छन्।
जानकी गाउँपालिका, वडा नम्बर १, पचपोखराका एक व्यक्ति, गोब्रे उर्फ अन्नाटेगर कबडिया, यस तस्करीमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनीसँगको सम्बन्धका कारण, स्थानीय प्रहरीले तस्करीलाई सहज बनाउने उद्देश्यले ठूलो रकम लिएको आरोप लगाइएको छ। यसले गर्दा तस्करहरूले प्रहरीको इशारामा स्याउको लोडिङ र अनलोडिङ कार्य गर्न पाउने गरेका छन्। एक स्थानीयले नाम नखुलाउने सर्तमा भनेका छन् कि प्रहरी र तस्करबीचको साँठगाँठका कारण, तस्करीको समय पहिल्यै तय हुन्छ र प्रहरीको सहमतिमा स्याउ निकालिन्छ।
तस्करहरूको गोदाम नेपालगञ्जको भिर्कुटीनगरमा रहेको छ, जहाँ भारतको रुपैडिहाबाट ल्याइएको स्याउको भण्डारण गरिन्छ। यो तस्करीमा १५ देखि २० जना साइकल र मोटरसाइकल चालकहरूको प्रयोग गरिन्छ, जसले दैनिक पाँच पटकसम्म भारत-नेपालबीचको यात्रा गर्ने गर्छन्। यस किसिमको तस्करी गर्दा साइकलवालाहरूलाई १० केजीको कार्टुन पुर्याएबापत रु. ३०० देखि रु. ४०० सम्म र २० केजीको कार्टुनका लागि रु. ५०० सम्म भाडा उपलब्ध गराइन्छ।
सशस्त्र प्रहरीको हकमा, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूसँग तस्करहरूले मिलेर काम गरिरहेका छन्। तस्करहरूले व्यापारीहरूसँग सिधा डिलिङ गर्दै साइकल र मोटरसाइकलमार्फत स्याउको क्यारिङ मात्र गर्ने गरेको स्रोतले बताउँछ। प्रहरी र तस्करबीचको यस आर्थिक चलखेलले गर्दा सिमा सुरक्षामा गम्भीर प्रश्न उठेको छ। स्थानीयहरूले बारम्बार यसबारे उजुरी गरे पनि माथिल्लो निकायको सहयोग नभएको कारणले समस्या जस्ताको तस्तै रहेको छ।
समग्रमा, बाँकेको पचपोखरा क्षेत्र स्याउ तस्करीको प्रमुख नाका बन्दै गएको छ। स्थानीय प्रशासनको सहयोग र प्रहरीसँगको साठगाँठले गर्दा यस क्षेत्रमा तस्करी नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ। यदि माथिल्लो निकायले उचित कदम नचालेमा, यो समस्या झनै विकराल रूप लिन सक्ने देखिन्छ।