काठमाडौँ कार्तिक १४ गते।
लामो समयदेखि नेपाल प्रहरीको नीति नियम, र आचारसंहिता उल्लंघन गर्दै तस्करी र लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा कलिम बेहना र रमेश खटिक पक्राउ परेका छन्। नेपाल प्रहरीमा प्रवेश गरेदेखि नै अनैतिक गतिविधिमा लिप्त बेहना खटिकले आफ्नो शक्तिको आडमा तस्करहरूसँगको सम्बन्धलाई फाइदाको स्रोत बनाउँदै आएका थिए।
उच्च स्रोतका अनुसार यो प्रकरणमा कलिमसँगै अन्य प्रहरी कर्मचारीहरूको संलग्नता रहेको संकेत देखिएको छ। अनुसन्धान प्रक्रिया जारी रहेको बताइएको छ, र यसको विस्तृत जानकारी आउँन केही समय लाग्न सक्ने अनुमान गरिएको हो। कलिमको नियमित दरबन्दी दाङमा भए पनि उनी प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन महाशाखामा काजमा थिए। उच्च प्रहरी श्रोतका अनुसार, कलिमले आफ्नो पावर र पहुँचको फाइदा उठाउँदै प्रहरीको आडमा तस्करी र लागुऔषध कारोबारमा संलग्न तस्करहरूसँग निकटता बढाए।
उनले प्रहरीको संरक्षणमा ठूलो मात्रामा आर्थिक लाभ उठाउँदै लागुऔषध ओसारपसार र विक्रीमा समेत संलग्न भएको बताइएको छ। यस क्रममा कलिम, रमेशले बाँके जिल्लाको नेपालगन्जमा करोडौँ लागतको घर बनाउँदै, जिल्लामा विभिन्न ठाउँमा जग्गा समेत खरिद गरेका छन्।
कलिम बेहना बर्दिया जिल्लाको खैरापुरका स्थायी बासिन्दा ,रमेश जानकी गाउँपालिका वडा नम्बर २ बकोटियागाउँका हुन्। दुवै जना सधारण परिवारबाट आएका उनले आर्थिक कठिनाइका कारण नेपाल प्रहरीमा जवानको रुपमा प्रवेश गरेका थिए। शुरुमा प्रहरीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे पनि, केही समयपछि उनले स्थानीय र भारतीय तस्करहरूसँग सम्बन्ध विस्तार गर्दै गैरकानुनी गतिविधिमा हात हाल्न थाले। नेपालगन्जका चर्चित तस्करहरूसँगको सम्बन्धले उनलाई तस्करी तथा लागुऔषध ओसारपसारमा लाग्न प्रेरित गरेको देखिन्छ।
कलिमका दाजु पनि लागुऔषध कारोबारमा संलग्न छन्। २०८० सालको चैतमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले उनलाई पक्राउ गरेको थियो, र अहिले उनी बाँके जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन्। प्रहरी श्रोतले अनुमान गरेको छ कि कलिमले अहिले करिब ५ करोड रुपैयाँ बराबरको सम्पत्ति जम्मा गरेका छन्। सामान्य परिवारबाट आएका कलिमले प्रहरीको पदलाई दुरुपयोग गर्दै गरेको यो सम्पत्ति संकलनका कारण नेपाल प्रहरीभित्रै चर्चा र आलोचनाको विषय बनेको छ।
कलिमका गैरकानुनी क्रियाकलाप सार्वजनिक हुनुमा काठमाडौँको कालिमाटी प्रहरी वृत्तमा कार्यरत सहायक हवल्दार रमेश खटिकको पक्राउ मुख्य कारण बनेको हो। बाँकेका स्थायी बासिन्दा खटिक पनि मादक पदार्थसहित पक्राउ परेपछि कलिमको कर्तुत बाहिर आएको हो। प्रहरी स्रोतका अनुसार, कलिम र खटिकले मिलेर १५० ग्राम ब्राउनसुगर विक्री गरिसकेका थिए, र बाँकी चार ग्राम ब्राउनसुगरसहित उनीहरू पक्राउ परेका हुन्।
दुवैजनाविरुद्ध मादक पदार्थ ओसारपसार तथा विक्री वितरण ऐन अन्तर्गत मुद्दा दायर गरिने भएको छ। प्रहरीले उनीहरूलाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। नेपाल प्रहरीका अनुसार, दुवैलाई ९० दिनसम्म अनुसन्धानका लागि हिरासतमा राख्न सकिने प्रावधान रहेको छ। कलिम र खटिकका कर्तुत बाहिर आएपछि नेपाल प्रहरीले उनलाई निलम्बन गरेको छ, र कानूनी कारबाही अघि बढाउने तयारी गरेको छ।
कलिम,रमेशको पक्राउपछि नेपालगन्जको जयसपुर र भारतको रुपैडिहा तथा नानपारा बहराइचका तस्करहरू त्रसित बनेका छन्। प्रहरी स्रोतका अनुसार, कलिमसँग सम्बन्धित तस्करहरूको विवरण सार्वजनिक हुँदा सीमा क्षेत्रका कयौं तस्करहरूको नाम पनि बाहिर आउने सम्भावना बढेको छ। कलिमको बयानका आधारमा नेपाल प्रहरीले विभिन्न तस्करहरूलाई थप अनुसन्धान गरिरहेको छ।
यस घटनाले प्रहरी संगठनभित्रै सुधारको आवश्यकतालाई झल्काउँछ। प्रहरीभित्र रहेका केही अधिकारीहरूले आफ्ना पद र शक्तिको गलत प्रयोग गर्दै गैरकानुनी क्रियाकलापलाई प्रश्रय दिएको भन्दै आलोचना भइरहँदा, कलिम र रमेसको घटना यसमा थप प्रमाणको रूपमा उभिएको छ। यसै क्रममा नेपाल प्रहरी प्रमुखले संगठनभित्रका सबै सदस्यहरूलाई अनुशासन पालन गर्न र भ्रष्टाचारबाट टाढा रहन निर्देशन दिएका छन्।
बेहना र खटिकको सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान गर्न समेत देखिएको छ। प्रहरी स्रोतले बताए अनुसार, कलिम र रमेशले जम्मा गरेको सम्पत्ति अवैध ठहरिएमा, सम्पत्ति शुद्धिकरण ऐन अनुसार कारबाही गरिने छ। यस घटनाले प्रहरीभित्रै अन्य असल र इमानदार प्रहरी कर्मचारीलाई प्रेरणा दिनेछ भने गलत कार्यमा संलग्न अन्यलाई कडा पाठ बन्न सक्ने बताइएको छ।
उनिहरुले अनैतिक कार्य गर्दै अवैध सम्पत्ति आर्जन गर्न खोजे पनि, न्यायले आफ्नो बाटो फेला पारेको छ। यो घटनाले प्रहरी संगठनलाई सुधार र पारदर्शिताको दिशामा अघि बढ्न प्रोत्साहन दिने विश्वास व्यक्त गरिएको छ।