नेपालगञ्ज कार्तिक ८ गते।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाललाई बिहीबार गृह जिल्ला बाँकेमा भव्य स्वागत गरिएको छ। मन्त्री अग्रवाललाई बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको जनता समाजवादी पार्टी (जसपा) कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरूले विशेष कार्यक्रम आयोजना गरेर स्वागत गरेका हुन्।
नेपालगञ्ज वडा नम्बर १३ को रमलिला मैदानस्थित जसपा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उत्साहजनक सहभागिता थियो। यस अवसरमा पार्टीका वरिष्ठ नेताहरूले मन्त्री अग्रवाललाई माला, खादा र फूल मालाले स्वागत गरेका थिए। जसपा बाँकेका अध्यक्ष दुर्गाप्रसाद वर्मा स्वागत मन्तव्य राख्दै मन्त्री अग्रवाललाई शुभकामना दिए।
स्वागत कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले आफूलाई मन्त्री पदको जिम्मेवारी प्रदान गरिएकोमा जसपा पार्टीप्रति आभार व्यक्त गरे। उनले भने, “यो पद मेरो मात्र होइन, यसमा तपाईँहरू सबैको साथ, सहयोग र समर्थन छ। म बाँके र लुम्बिनी प्रदेशको समग्र विकासका लागि प्रतिवद्ध छु।” उनले आन्तरिक सुरक्षा र कानुनी सुधारको क्षेत्रमा आफूले विशेष काम गर्ने बताउँदै समृद्ध लुम्बिनी प्रदेश निर्माणको संकल्प दोहोर्याए।
मन्त्री अग्रवालको स्वागत गर्नका लागि बाँकेको विभिन्न स्थानबाट आएका पार्टीका कार्यकर्ता र समर्थकहरूको उपस्थित थिए। नेपालगञ्जका विभिन्न ठाउँहरूमा समेत उनको सम्मानमा स्वागत गरेको थियो। स्थानीयवासीहरूले मन्त्री अग्रवाललाई घर पुगेर समेत बधाई र शुभकामना दिएका थिए।
कार्यक्रममा बोल्दै जसपा बाँकेका अध्यक्ष वर्माले मन्त्री अग्रवाललाई लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नियुक्त गरिएकोमा गर्व गर्दै उनले बाँके जिल्लाको विकास र समृद्धिका लागि अग्रवालको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले भने, “मन्त्री अग्रवालको नेतृत्वमा बाँके जिल्लाको समृद्धि र शान्ति स्थापना हुने आशा गरेका छौं।”
नवनियुक्त मन्त्री अग्रवाल बाँके निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित लुम्बिनी प्रदेश सदस्य हुन्। उनी जसपा लुम्बिनी प्रदेशका प्रभावशाली नेतामध्ये एक हुन् र प्रदेशभरि पार्टीको संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएपछि यो पहिलो पटक उनी गृह जिल्ला बाँके आएका हुन्।
उनको आगमनले स्थानीय जनतामा उत्साह छाएको छ। स्वागत समारोहमा उपस्थित संगठन विभाग प्रमुख अतहर हुसेन फारुकी,वडा अध्यक्ष सराफर हुसेन शेष, वडाध्यक्ष मजहर अलि साई लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूले मन्त्री अग्रवालको कार्यकाल सफल होस् भन्ने शुभकामना दिएका थिए।