बाँके कार्तिक ५ गते।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ स्थित घरबारी टोलमा भन्सार छलि गरी भारतबाट चोरी पैठारी गरेर ल्याइएका लत्ताकपडा र ढुवानीमा प्रयोग गरिएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सामानको कुल मुल्य १० लाख ८५ हजार २ सय रुपैयाँ रहेको बाँके प्रहरीले जनाइएको छ। तस्कर समूहले रातको समयमा भारतीय गाडीमा भन्सार छलि गरेर अवैध सामान ओसारपसार गर्दै आएको खुलेको छ।
स्रोतका अनुसार उक्त भारतीय गाडी होण्डा सिटी यूपी 16 AD /6682 गाडी नेपालगंज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटर मतहतमा रहेको चौलिकता चेकपोष्ट अगाडी हुँदै घरबारी टोलमा स्थित गोदाममा सामान झार्ने क्रममा पक्राउ गरिएको हो। उच्च प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले गाडीसहित दुई जनालाई नियन्त्रणमा लिई गोदाममा छापा हानेरे लत्ताकपडा बरामद गरेको जनाएको छ।
करिब ३ लाख ८५ हजार २ सय रुपैयाँ बराबरका कटन र ऊलनबाट बनेका कुर्ता, सुरुवाल, स्वेटर लगायतका लत्ताकपडा रहेको बताइएको छ भने सामान ढुवानीमा प्रयोग भएको गाडीको अनुमानित मूल्य ७ लाख रुपैयाँ रहेको छ। तस्करीमा संलग्न गाडीलाई स्कटिङ गर्ने दुई जना फरार भएको र गाडीमा सामान ओसारपसार गर्ने चालक सहित दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।
घरबारी टोल स्थित बरामद गरिएको अवैध सामान बरामद गर्ने बेलामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली रहेको घटनास्थलमा देखिन्थ्यो। अवैध लत्ताकपडा, गाडी र ढुवानीमा संलग्न व्यक्तिहरूसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेको फेसबुक पेजबाट जनाएको छ। यस किसिमका अवैध कार्यले नेपालको कानूनी प्रणालीलाई चुनौती दिने मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि नकारात्मक प्रभाव पार्ने गरेको छ। भन्सार छलि गरेर ल्याइएका सामानले सरकारलाई तिर्नुपर्ने राजस्व गुम्ने, बजारमा मूल्य प्रतिस्पर्धामा असमानता उत्पन्न हुने, र औद्योगिक उत्पादनमा कमी आउने समस्याहरू उत्पन्न हुने गरेका छन्।