नेपालगञ्ज कार्तिक ३ गते।
बाँके जिल्लाको जमुनाहा नाकाको पूर्व क्षेत्रमा पछिल्लो समय अवैध तस्करीको व्यापक वृद्धि भएको छ। बाँकेको मुख्य नाका जमुनाहा र त्यससँग जोडिएका सहायक नाकाबाट ठूलो मात्रामा कपडाको तस्करी फस्टाएको देखिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार जमुनाहा नाकाको पूर्व नीमबूटा बिजुलीपोल क्षेत्रबाट खुलेआम भन्सार छल्दै सामान भित्र्याइन्छ। सशस्त्र प्रहरीको संरक्षणमा यो तस्करी भइरहेको भन्ने गम्भीर आरोप पनि उठिरहेको छ।
समाचार रिपोर्टमा सशस्त्र प्रहरीको आँखा अगाडि नै तस्करी हुँदै गरेको दृश्यसमेत सार्वजनिक भइसकेको छ, तर सशस्त्र प्रहरी बल नेपालको मुख्यालयले अझै यसबारे प्रभावकारी अनुगमन गर्न सकेको छैन। स्थानीय व्यापारीहरूको भनाइ अनुसार जयसपुर बीओपीबाट खटिएका सशस्त्र प्रहरीको सेटिङमा खुलेआम तस्करी भइरहेको छ। तस्करहरूले प्रति दिन १० हजारदेखि २० हजार रुपैयाँसम्मको दरमा व्यापारीलाई कपडाको तस्करीको अनुमति दिएको आरोप छ।
स्थानीय किराना व्यवसायीहरूले यस क्षेत्रमा ठूलो मात्रामा तस्करी भइरहेको बताएका छन्। उनीहरूका अनुसार दिन र रात दुवै समयमा, सशस्त्र प्रहरीको संरक्षणमा सीमापारबाट कपडा र अन्य सामान भित्र्याइन्छ। स्रोतका अनुसार, यो तस्करी दुवैतर्फ हुँदै आएको छ—तस्करहरू तीन पाङ्ग्रे साइकल, मोटरसाइकल, वा पैदल भरियाहरूको प्रयोग गरी राति वा दिउँसो सीमाबाट सामान नेपालगञ्जमा ल्याउँछन्।
यस अवैध तस्करीमा जयसपुर बीओपीमा कार्यरत वरिष्ठ हवलदार बिर्खा बहादुर बिकको नाम पनि जोडिएको छ। वरिष्ठ हवलदार बिकको आज पनी जमुनाहा पूर्व क्षेत्रमा ३० नम्बर पिलरमा ड्युटी रहेको खुलेको छ। स्थानीय व्यवसायीहरूले उनलाई तस्करीको प्रमुख व्यवस्थापकको रूपमा आरोप लगाएका छन्। उनीहरूको भनाइ अनुसार, हवलदार बिर्खा बहादुर बिकको सेटिङमा तस्करी सहज भएको छ, र यसले सुरक्षा संयन्त्रको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ।
सशस्त्र प्रहरी बल नेपालका ३० नम्बर गण बागेश्वरी हेडक्वाटरका गणपति (कमान्डर) ले आफ्ना मातहतका युनिटलाई बारम्बार तस्करी रोक्न निर्देशन दिएका छन्, तर युनिटमा रहेका केही भ्रष्ट सुरक्षाकर्मीहरूको कारणले गर्दा समग्र संगठनको बदनामी भएको देखिएको छ। यस्ता घटनाहरूले सशस्त्र प्रहरीको छवि मात्रै खराब गरेको छैन, देशको राजस्व असुलीमा पनि नकारात्मक असर पुर्याएको छ।
देश आर्थिक मन्दीको चपेटामा रहेको बेलामा बाँके जिल्लामा राजस्व संकलन लक्षअनुसार हुन नसकेको देखिन्छ।जमुनाहा नाकाको पूर्व र पश्चिम क्षेत्रबाट अवैध रुपमा साइकल, मोटरसाइकल, र पैदल भरियाहरूको प्रयोग गरी रातभर कपडा, चिनी लगायतका सामान तस्करी गरी नेपालगञ्जको चौलीका चौक नजिकका गोदामहरूमा राख्ने गरिएको छ। यस्तो गतिविधिले न केवल स्थानीय व्यापारलाई प्रभावित पारेको छ, बरु राष्ट्रिय अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पार्दै आएको छ।
यो समस्या समाधान गर्न सशस्त्र प्रहरी बललाई कडाइका साथ निगरानी गर्न आवश्यक देखिन्छ। तस्करीमा संलग्न सुरक्षाकर्मीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ताकि सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न सकियोस् र मुलुकको राजस्व प्रणाली बलियो बनोस्।