काठमाडौँ असोज २९ गते ।
बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघर मण्डलामा जारी आन्दोलनले अहिले पनि जनचासोको बिषय बनेको छ। निर्मला कुर्मीको अपहरण र हत्या भएको आरोप लागेका व्यक्ति बादशाह कुर्मीले राजनीतिक संरक्षण पाएको भन्दै पीडित पक्षले न्यायको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। यो आन्दोलन पाँचौँ चरणमा पुगेको छ र ६८ दिन पूरा भइसकेको छ ।
रुबी खानसहितका आन्दोलनकारीहरूले निर्मला कुर्मीलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले सरकारलाई चेतावनी दिँदै भनेका छन् कि यदि आउँदो शुक्रबारसम्म माग पूरा भएन भने कडा रूपमा आमरण अनशन सुरु गरिनेछ। अहिले आन्दोलनमा सहभागी कतिपय आन्दोलनकारी डेंगु, ज्वरो, टाइफाइड जस्ता गम्भीर रोगले ग्रसित छन् तर, उनीहरू अझै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। नाकबाट रगत बग्ने, रुघाखोकीलगायतका समस्या भोग्दै आन्दोलनमा होमिएका आन्दोलनकारीहरूले सरकारको असंवेदनशीलतामाथि प्रश्न उठाएका छन्।
रुबी खानले सरकार र सत्तारूढ दलहरूले निरन्तर बादशाह कुर्मीलाई संरक्षण दिँदै आएको र यसले न्यायको खोजीमा रहेका उनीहरूलाई थप पीडा दिएको बताइन्। उनले सरकारको महिलाप्रतिको हलुका मानसिकता र असंवेदनशीलताको आलोचना गर्दै भनिन्, “हामीलाई चाडपर्वको समयमै अन्यायको सामना गराइँदैछ र हाम्रो मुद्दालाई कमजोर बनाउने प्रयास भइरहेको छ।”
निर्मला कुर्मी २०७५ सालमा बेपत्ता भएकी थिइन्, र उनको नाममा रहेको सम्पत्ति अरूको नाममा सारिएको थियो। यो घटनाले समाजमा ठूलो चर्चा पाएको छ र पीडित परिवारलाई न्याय दिलाउन अधिकारकर्मीहरूले लामो समयदेखि संघर्ष गरिरहेका छन्। बादशाह कुर्मी, जो नेपाली कांग्रेसका नेता समेत हुन्, । उनले केही समयका लागि लुम्बिनी प्रदेशमा मन्त्री पदसमेत सम्हालेका थिए, तर आन्दोलनको चर्को दबाबपछि राजीनामा दिएका थिए।
यो आन्दोलन २०७८ सालमा सुरु भएको थियो, जब रुबी खान र उनका समर्थकहरूले नेपालगञ्जदेखि काठमाडौँसम्म पैदल यात्रा गर्दै न्यायको माग गरेका थिए। त्यसपछि उनीहरू माइतीघर मण्डलामा धर्ना बस्न थालेका हुन्। आन्दोलनकारीहरूले राज्यले महिलाको सुरक्षामा ध्यान नदिएको र दोषीलाई संरक्षण गरेर अन्यायको समर्थन गरेको आरोप लगाइरहेका छन्।
निर्मला कुर्मीले न्याय नपाउँदासम्म आफूहरू पछि नहट्ने र आमरण अनशनलाई अन्तिम विकल्पको रूपमा प्रयोग गर्ने चेतावनी अधिकारकर्मी खानले लिमरा खबरलाई जानकारी दिएकी हुन।