मंसूर अली इद्रिशी
नेपालगञ्ज असोज २४ गते-बाँके जिल्ला जानकी गाउँपालिका वडा नम्बर १, साईगाउँमा दशैंको समय नजिकिँदै गर्दा अज्ञात व्यक्तिहरूद्वारा तीनवटा घरमा चोरी भएको छ। यस घटनाले साई गाउँवासीलाई ठूलो त्रास र चिन्ता उत्पन्न गराएको छ। साईगाउँका वडा अध्यक्ष मोहम्मद रजा राईका अनुसार लामो समयपछि यस्तो घटना भएको हो। उनले स्थानीय जनता सुरक्षित महसुस गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
वडाध्यक्ष राईले जानकारी दिए अनुसार चोरी भएका तीन घरहरुमा राजेश हर्जन, गोली बेहना र ट्रेन्नी कोरीको घरबाट नगद र गरगहना चोरी भएको हो। चोरीको क्रममा अन्दाजी ५ लाख रुपैयाँ बराबरको नगद र गरगहना चोरी भएको जनाइएको छ। पीडितहरूले १९ हजार नगद र सुनचाँदीका गरगहना चोरी भएको विवरण प्रहरीलाई दिएका छन्। यो चोरीको घटनाले गाउँमा ठूलो आर्थिक क्षति पुर्याएको छ।
चोरीको घटनाले गाउँवासीहरूमा डर र असुरक्षाको भावना बढेको छ, विशेषगरी चाडपर्वको बेला दशैंको समयमा मानिसहरू घरमा नहुन सक्ने सम्भावना बढ्ने हुँदा यस्ता चोरीका घटना हुने खतरा थप बढेको वडा अध्यक्ष राईले लिमरा खबरलाई बताएका छन्। चोरीका घटना नियन्त्रण गर्न स्थानीय बासिन्दाले सर्तकता अपनाउन राईले आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेले चोरीको घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। साईगाउँ प्रहरी चौकीबाट तुरुन्तै प्रहरी परिचालन गरी क्षतिको विवरण सङ्कलन गर्न र चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्न सुरु गरिएको छ। चोरी नियन्त्रणका लागि प्रहरीले गाउँमा नियमित गस्ती सुरु गरेको छ।
चोरीको घटना बढ्दै जानु चाडपर्वको समयसँगै प्रहरीले चाडपर्वको बेला सुरक्षाको लागि विशेष योजना बनाउने र स्थानीय स्तरमा सुरक्षा व्यवस्था कडा बनाउने योजना बनाएको छ। यस घटनाले गाउँवासीलाई आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न थप सतर्क रहन र रातको समयमा विशेष ध्यान दिन सुझाव दिएको छ। साथै, प्रहरीले पनि चोरीका घटनामा संलग्न अपराधीहरूलाई चाँडोभन्दा चाँडो पक्रेर कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
दशैंको रमाइलो गर्ने समयमा यस्ता अप्रिय घटनाले गाउँमा खल्लोपन सिर्जना गरेको छ, तर प्रहरीको सक्रियताले पुनः शान्ति स्थापना हुनेमा विश्वास दिलाइएको छ।