नेपालगञ्ज असोज २३ गते।
बाँके जिल्लाको जमुनाहा क्षेत्रमा पछिल्लो समय खुलेआम रुपमा तस्करी हुने गरेको छ। यस क्षेत्रमा विशेषगरी शर्मागलीदेखि पीपल बूटा नजिकसम्म सशस्त्र प्रहरी बलको संरक्षणमा दिनरात तस्करी भइरहेको स्थानीयहरूले गुनासो गरेका छन्। जमुनाहानाका पूर्व र पश्चिम क्षेत्र औपचारिक रूपमा तस्करीका लागि सञ्चालन भएका रुटहरूमा एकाएक गतिविधिहरू बढेका छन्। पछिल्लो एक महिनामा तस्करीको मात्रा निकै बढेर चरम अवस्थामा पुगेको छ।
सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल, जयसपुर बीओपी अन्तर्गत रहेको छ। तर, त्यहाँ सुरक्षामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीहरूकै मिलेमतोमा तस्करी भइरहेको स्रोतले दाबी गरेका छन् । राति र दिनभर असइको कमाण्डमा हवल्दार र जवानहरू ड्युटीमा यस क्षेत्रमा खटिएका हुन्छन्, तर पनि सशस्त्र प्रहरीकै अगाडि तस्करी खुलेआम भइरहन्छ। स्थानीयहरूले सशस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा नै जमुनाहा सीमा क्षेत्रबाट ठूलो मात्रामा सामान ओसारपसार भइरहेको आरोप लगाएका छन्।
तस्करहरूले मुख्य रूपमा चाइनिज सामान, कपडा,चीनी,माछा, इलेक्ट्रोनिक्स सामान तथा दशैं-तिहारको सन्दर्भमा लसुन लगायतका अन्य सामग्रीहरू नेपाल भारत रूपैडिया नाकाबाट तस्करी गरिरहेका छन्। स्थानीयहरूका अनुसार, शर्मागली र बिजुलीपोल जस्ता नाकाहरूमा बाइक राइडर र महिला समूहहरू तस्करीमा संलग्न छन्। यस्ता समूहहरूले दिनरात सामान ओसारपसार गरिरहेको देखिन्छ।
एकजना तस्करले नाम नछाप्ने शर्तमा बताएअनुसार, आजराति ११ बजे शर्मागलीमा खटिएका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार विकको सेटिङमा तस्करीका सामान ओसारपसार भएको हो । घर खर्चका लागि ल्याइएको थोरै सामान मात्र जफत गरिन्छ, तर ठूला परिमाणमा हुने तस्करीलाई नजरअन्दाज गरिन्छ। स्थानीयहरूले तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षा निकायले साना-मसिना सामान जफत गरेर माथिल्लो तहका अधिकारीलाई देखाउन मात्रै काम गरिरहेको आरोप लगाएका छन्। ठूलो परिमाणमा मदिरा, चीनी,चाइनिज सामान कपड़ा, लगायत अन्य सामग्री भने दिनहुँ भारततर्फ हुँदै नेपालतर्फ लगिन्छन्।
यद्यपि, सशस्त्र प्रहरीले बेला-बेला दुई-चार बोरा चामल चीनी कपडा जफत गरेको खबर सार्वजनिक गर्ने गरेको छ, तर यो तस्करीको वास्तविक समस्या समाधान गर्नका लागि पर्याप्त भएको छैन। स्थानीयहरूले भने सशस्त्र प्रहरी बलकै प्रत्यक्ष मिलेमतोमा तस्करी भइरहेको बताउँछन्। यसले गर्दा जमुनाहानाकाको दाया,बायाँ खूलासिमानाकामा खटेको सुरक्षा निकाय माथी प्रश्नचिन्ह खडा भएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँकेका गणपति बिमल डाँगीले बाँके जिल्लाका सबै बीओपीहरूलाई तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका थिए। तर, ती निर्देशनको पालना नगरिएको देखिन्छ, किनभने तस्करीका गतिविधि झन् बढिरहेको प्रमाणित भएको छ। स्थानीयवासीहरूले तस्करीको यो अवस्था सुरक्षाकर्मी र तस्करहरूको मिलेमतोबाट नै बढेको दाबी गरेका छन्।
यसरी, बाँके जिल्लाको जमुनाहा क्षेत्र अहिले तस्करीको हब बनेको छ। स्थानीय सुरक्षाकर्मीहरू र तस्करहरूको मिलेमतोले गर्दा यो समस्या झन् गम्भीर बन्दै गएको छ। प्रशासनले यसबारे चाँडै कदम नचालेको खण्डमा यो समस्या अझ विकराल रूप लिन सक्ने देखिन्छ,।