नेपालगञ्ज असोज २१ गते।
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न चौकहरूमा जडान गरिएका हाइमास्ट लाइटहरू बिग्रिएको अवस्थामा रहेको कारण स्थानीयवासीहरू अन्धकारमा बाँच्न बाध्य भएका छन्। नेपालगञ्जको मुख्य चौकहरूमा लाखौंको लागतमा जडान गरिएका यी हाइमास्ट लाइटहरू अहिले बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन्। उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र वडाका जनप्रतिनिधिहरूको उदासिनता र उपमहानगरको विद्युत शाखाका कर्मचारीहरूको लापरबाहीको कारणले गर्दा लाइटहरू मर्मत हुन नसकेको स्थानीयहरू बताउँछन्।
परसपुर चौक, चौलिका चौक, आदर्श नगर चौक, पुरैनाको बसन्त मल चौक, बिर्ता चौकजस्ता नगरका प्रमुख स्थानहरूमा जडान गरिएका हाइमास्ट लाइटहरू विगत केही महिनादेखि बिग्रिएको अवस्थामा छन्। विजयादशमीको चाडपर्वको समयमा मानिसहरू रातिको समयमा आवतजावत गर्दा अन्धकारमा सास्ती खेप्नुपरेको छ। रातभरि जागरण चलिरहने समयमा उज्यालोको कमीका कारण सर्वसाधारणहरूलाई ठूलो समस्या भएको छ। यसले गर्दा स्थानीयवासीहरू उपमहानगरपालिकालाई जिम्मेवारीबोध गराउन दबाब दिइरहेका छन्।
वडा नम्बर २१ र २२ को सीमानमा रहेको कान्तितालमा समेत लाइटहरू बिग्रिएर काम नलाग्ने अवस्थामा रहेको छ। कान्तिताल एक प्रमुख पर्यटकीय क्षेत्र भएको कारण यहाँ अन्धकारको अवस्थामा पर्यटक र स्थानीयहरूलाई निकै असहजता भएको छ। नगरभित्रका अन्य पर्यटकीय क्षेत्र र चौकहरूमा पनि त्यस्तै समस्या रहेको छ।
स्थानीयहरूले उपमहानगरपालिकामाथि विद्युत मर्मतको काममा ध्यान नदिएको आरोप लगाएका छन्। हाइमास्ट लाइटहरूको नियमित मर्मत सम्भार गर्न लाखौंको बजेट विनियोजन भए तापनि मर्मत कार्य नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। विभिन्न चौकहरूमा रहेका लाइटहरू नबलेका कारण नगरको सुरक्षा स्थितिमा पनि असर परिरहेको छ। अपराधिक गतिविधि बढ्न सक्ने डरले स्थानीयहरू चिन्तित बनेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाको जिम्मेवारीमा रहेको विद्युत मर्मत सम्भारको काममा यस प्रकारको लापरबाही हुनु गैरजिम्मेवारपना भएको स्थानीयवासीहरूको गुनासो छ। चाडपर्वको समय अझै संवेदनशील हुन्छ, त्यसमाथि यसरी अन्धकारमा चौकहरू रहनु जनताको सुरक्षाका लागि पनि खतरनाक रहेको उनीहरूको भनाइ छ।
उपमहानगरपालिकाले भने बजेटको अभाव र प्राविधिक कारण देखाउँदै लाइट मर्मत गर्न नसकेको बताएको छ। तर, स्थानीयहरू भने उपमहानगरले जिम्मेवारी पूरा नगरेको र लापरवाही देखाएको भन्दै आलोचना गरिरहेका छन्। उनीहरूको अनुसार समयमै लाइटहरू मर्मत गरिए नगरको सौन्दर्य र सुरक्षामा सुधार आउने थियो।
स्थानीयवासीहरूको दवाब र गुनासोका कारण उपमहानगरले यथाशीघ्र लाइट मर्मतको काम अघि बढाउनुपर्ने देखिन्छ। नगरको प्रमुख चौकहरू र पर्यटकीय क्षेत्रको उज्यालो व्यवस्थापन नभएसम्म सर्वसाधारणहरूलाई अप्ठ्यारो हुनुका साथै नगरको प्रतिष्ठामा पनि धक्का लाग्न सक्छ।