बाँके असोज १९ गते ।
नेपालगञ्जमा एक वर्षअघि मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापनका लागि जडान गरिएको ट्राफिक लाइट अझै सञ्चालनमा आउन सकेको छैन। बाँकेको नेपालगञ्जमा बढ्दो सवारी चापले सडक जाम र दुर्घटनाको समस्या विकराल बनेको बेला यसलाई नियन्त्रण गर्न सडक डिभिजन कार्यालयले पूर्व भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा ट्राफिक लाइट जडान गरेको थियो। उक्त ट्राफिक लाइट केहि दिन परीक्षणका लागि सञ्चालनमा आएपनि त्यसपछि भने पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छैन।
यस कामका लागि लाखौं रुपियाँ खर्च गरिएको भएपनि ट्राफिक लाइट अहिले सडकको शो पीस जस्तै मात्र बनेको छ। सडक डिभिजन कार्यालयले ट्राफिक लाइट नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ, जसले यसलाई सञ्चालन गर्ने जिम्मा पाएको छ। उपमहानगरपालिकाले यसका लागि आवश्यक पर्ने विद्युतसमेत उपलब्ध गराएको भएपनि ट्राफिक लाइट सञ्चालनमा नल्याउँदा सर्वसाधारणले समस्या खेप्नुपरेको छ।
नेपालगञ्जका मुख्य चोकहरू, जस्तै पुष्पलाल चोक, धम्बोझी, बीपी र गणेशमान चोकमा ट्राफिक लाइट जडान गरिएको थियो। पैदलयात्रुलाई सडक वारपार गर्न सजिलो होस् भन्ने उद्देश्यले जेब्राक्रसको संकेत पनि बनाइएको छ। तर सवारी चालकले तीव्र गतिमा सवारी चलाउँदा पैदलयात्रुलाई जोखिम मोलेर सडक वारपार गर्नुपर्ने स्थिति आएको छ।
नेपालगञ्जका मुख्य चोकमा जोखिम मोलेर सडक पार गर्नुपरेको अनुभव बताउँदै राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरकी रुमा क्षेत्रीले भनिन्, ‘सडक वारपार गर्न निकै गाह्रो छ। जेब्राक्रस भए पनि सवारी चालकले यसको मतलब नबुझेको जस्तो लाग्छ। सडकमा तीव्र गतिमा गाडी चलाउँदा ठोक्किने डर हुन्छ, जसले गर्दा पैदलयात्रुलाई जोखिम मोलेर वारपार गर्नुपर्छ।’
ट्राफिक लाइट हुँदाहुँदै पनि यसलाई सञ्चालनमा नल्याइँदा नेपालगञ्जका सर्वसाधारणले सडक वारपार गर्दा बारम्बार सास्ती भोग्नुपरेको छ। बालबालिका, ज्येष्ठ नागरिक र महिला यो समस्याबाट बढी प्रभावित छन्। तीव्र गतिमा हुइकिने सवारीले उनीहरूलाई सडकमा किच्ने डर रहन्छ।
खजुरा गाउँपालिका १ राधापुरकी ६५ वर्षीया निरमाया थापाले सडक पार गरेपछि आफूलाई युद्ध जितेझैं लाग्ने बताइन्। ‘सडक पार गर्नुअघि धेरै डर लाग्छ, तर पार गरेपछि एउटा ठूलो समस्या टर्यो भन्ने महसुस हुन्छ,’ उनले भनिन्।
पूर्व भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जको सवारी चापलाई मध्यनजर गरेर ट्राफिक लाइट जडान गर्न बजेटको व्यवस्था गरिएको बताए। उनले भने, ‘पैदलयात्री र सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न ट्राफिक लाइट जडान गरिएको हो। जडान भएको भए पनि समयमै सञ्चालनमा नल्याउनु दुर्भाग्यपूर्ण हो।’
उनले ट्राफिक लाइट सञ्चालनमा आए पैदलयात्रुलाई सडक वारपार गर्न सहज हुने र सवारी दुर्घटनाको दर घट्नेमा विश्वास व्यक्त गरे। ‘नेपालगञ्जमा सवारी चाप दिन प्रतिदिन बढ्दै गएको छ, जसले गर्दा ट्राफिक लाइटको आवश्यकता टड्कारो देखिएको थियो। यसैका लागि सरकारले बजेटको व्यवस्था गरेको हो, तर एक वर्ष बितिसक्दा पनि यो सञ्चालनमा नआउनु दुर्भाग्यपूर्ण हो,’ उनले भने।
सडक डिभिजन कार्यालयले ट्राफिक लाइटको सञ्चालनको जिम्मा उपमहानगरपालिकालाई दिए पनि उपमहानगरले यसलाई सञ्चालनमा ल्याउन ढिलाइ गरेको हो। सवारी साधनहरूको तीव्र गतिको कारण दुर्घटनाको जोखिम बढिरहेको छ, र पैदलयात्रीलाई सडक पार गर्न अझै समस्या भइरहेको छ। यसरी समयमै ट्राफिक लाइट सञ्चालनमा नल्याउँदा नेपालगञ्जका सर्वसाधारणले दैनिक जीवनमा सास्ती भोग्नुपरेको छ।