बाँके असोज १९ गते।
नेपालगन्ज उपमहानगरपालिका भित्र बिहानैदेखि वाणिज्य कार्यालय, पशु कार्यालय, खाद्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायतको संयुक्त टोलीले मासु पसलमा अनुगमन गरेको छ। अनुगमनको क्रममा नेपालगन्ज वडा नम्बर १५ जमुनाहामा रहेको मो. सरिफ फ्रेस हाउसलाई अखाद्य मासु बिक्रीवितरण गरेको र सडेको मासु बेचेको पाइएपछि रु २० हजार जरिवाना तिराइएको छ।
वाणिज्य कार्यालय नेपालगन्जका अनुगमन टोली प्रमुख हरि बहादुर खत्रीका अनुसार उक्त मासु पसलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को (घ) बमोजिम कसुर गरेको पाइएपछि जरिवाना गरिएको हो। अनुगमनका क्रममा अखाद्य मासु बिक्री गरेको प्रमाणित भएपछि सो पसललाई तत्काल जरिवाना गरिएको खत्रीले जानकारी दिनुभयो। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजारमा रहेका मासु पसलको नियमित अनुगमनको आवश्यकता रहेको भन्दै खत्रीले यस्ता कार्यमा सचेत रहन आग्रह गर्नुभयो।
यसैगरी, आलाम मिट पसलमा समेत अनुगमन गरिएको थियो, तर कुनै ठूला गल्ती नपाइएको हुँदा त्यस पसललाई सचेत गराइएको छ। अनुगमन टोलीले मासु पसलहरुलाई साफ-सुग्घर र मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको छ। मासुजन्य वस्तुको गुणस्तरमा कुनै कमी आएमा तत्काल कानूनी कारबाही गरिने समेत चेतावनी दिएको छ।
संयुक्त टोलीले अनुगमनका क्रममा अन्य पसलहरुको पनि निरीक्षण गरेको थियो र उपभोक्ताहरुले पाउने सेवामा सुधार ल्याउने उद्देश्यले यस्ता अभियान निरन्तर चलाइने जनाइएको छ।