बांके असोज १८ गते।
नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य तथा जि नेपाल एचडी टेलिभिजनका संवाददाता अभिषेक गुप्तामाथि बिहीबार राति समाचार संकलनको क्रममा दुर्व्यवहार भएको छ। पत्रकार गुप्ताले नेपालगन्जमा समाचार संकलन गरी फर्कने क्रममा त्रिवेणी मोड नजिकै तीन जना युवाहरूको समूहबाट हातपातको प्रयास गरिएको बताएका छन्।
रातको करिब ११ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं २ त्रिवेणी मोड नजिकै आफ्नो घरको अगाडि पुग्दा उनीमाथि आक्रमणको प्रयास भएको हो। तीन युवाको समूहले गुप्तालाई “भिडियो किन बनाएको?” भन्दै दुर्व्यवहार गरेको थियो। युवाहरूले गुप्तामाथि हातपात गर्न खोजे पनि उनले कुनै प्रकारको शारीरिक क्षति भने भोग्न परेन।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले गुप्तामाथि भएको दुर्व्यवहारको घटनाको कडा निन्दा गर्दै दोषीलाई कानूनी कठघरामा ल्याउन जोडदार माग गरेको छ। महासंघको विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि भएको यो प्रकारको आक्रमणले प्रेस स्वतन्त्रतामाथि धक्का पुर्याउँछ। यस घटनालाई गम्भीरतापूर्वक लिनु पर्छ र दोषीमाथि कानूनी कारबाही गर्न ढिलाइ हुनुहुँदैन।”
यसैबीच, जि नेपाल एचडी टेलिभिजनले पनि आफ्नो पत्रकारमाथि भएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस घटनाको निष्पक्ष अनुसन्धानको माग गरेको छ। सञ्चारमाध्यमले आफ्नो पत्रकारलाई सुरक्षा प्रदान गर्न सम्बन्धित निकायसँग अपिल समेत गरेको छ।
पत्रकार महासंघका अन्य सदस्यहरुले पनि घटनाप्रति असन्तुष्टि जनाउँदै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन्। पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको सम्मान गर्न सबै पक्षसँग महासंघले आग्रह गरेको छ। र यसले पत्रकारिता पेसाको स्वतन्त्रता र निष्पक्षतामा चुनौती थपिएको महसुस भएको छ।