बाँके, असोज १५ गते ।
बाँके जिल्लाको नेपालगंजमा भन्सार छलि गरी ल्याइएका ठूलो परिमाणको अवैध सामान प्रहरीले बरामद गरेको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४, न्यूरोड क्षेत्रमा भारतबाट नेपाल भन्सार छलि गरी ल्याइएका ११ क्विन्टल चिनी र ढुवानीका लागि प्रयोग गरिएको सवारी साधन सहित अन्दाजी २० लाख ८८ हजार रुपैयाँ बराबरको सामान जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको हो।गोप्य सूचनाका आधारमा प्रहरीले उक्त चिनी लुकाइछिपाई ल्याइएको अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार भन्सार छलि गरी ल्याइएका अन्य सामग्रीहरू पनि नेपालगंज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझी क्षेत्रबाट फेला परेका छन्। त्यहाँबाट कुर्ता-सुरुवाल र बच्चाका जुत्ता जस्ता सामग्रीहरु, अन्दाजी ४९ हजार ७ सय रुपैयाँ बराबरका सामान पनि बरामद गरिएको हो। यससँगै प्रहरीद्वारा बरामद गरिएका सामानहरूको कुल मूल्य २१ लाख ३७ हजार ७ सय रुपैयाँ पुगेको छ।
बरामद गरिएका सबै सामान नेपालगंज भन्सार कार्यालयमा बुझाइएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। अवैध तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाँके प्रहरीले भन्सार छलि र तस्करीले नेपाल सरकारको राजस्वमा ठूलो घाटा पुर्याउने भन्दै सीमा क्षेत्रमा गस्ती कडा गरेको छ।
भारतसँगको खुला सिमानाका कारण नेपालमा भन्सार छलि र तस्करीका गतिविधिहरू बारम्बार हुने गरेका छन्। यस्ता गतिविधिहरूले स्थानीय बजारमा मूल्य अस्थिरता र व्यवसायिक असमानता ल्याउने भएकाले प्रहरीले थप कडा कदम चाल्ने बताएको छ।