नेपालगञ्ज भाद्र १२ गते ।
भारत र नेपालबीचको खुला सीमा र सुरक्षा चुनौतीलाई लिएर पटकपटक प्रश्न उठाउँदै आएको भारतीय पक्षले हालै नेपाल र पाकिस्तानलाई बदनाम गराउने खालका समाचार प्रकाशन गरेको छ। केही भारतीय सञ्चारमाध्यमले भारतको गुप्तचर शाखाले पठाएको प्रतिवेदनलाई हवाला दिँदै नेपालको बाँके जिल्लामा रहेको मदरसाहरूमा पाकिस्तानीहरूले भारतविरुद्ध जिहादी तालिम दिइरहेको आरोप लगाएका छन्।
भारतीय सञ्चारमाध्यमको आरोप : भारतको चर्चित जागरण अनलाइनमा २०२४ सेप्टेम्बर २३ मा प्रकाशित समाचारमा लेखिएको छ कि नेपालगञ्जमा रहेको मदरसा मार्फत २५०० मुस्लिम युवालाई पाकिस्तानले भारतविरुद्ध जिहादी तालिम दिइरहेको छ। उक्त समाचारमा बाँके जिल्लाको नेपालगञ्जको फुलटेकरा मदरसाका प्रमुख मौलाना मन्सुर हलवाईलाई पाकिस्तानको कराँचीका बासिन्दा भएको आरोप लगाइएको छ। यस मदरसा पाकिस्तानको कोषमा सञ्चालित रहेको र त्यहाँ पाकिस्तानी मौलानाहरूले जिहादी शिक्षा दिइरहेको भनिएको छ। यसबाहेक लाहोर, कराँचीका अन्य मौलाना जियाउल हक, मौलाना मदनी मरकज, मौलाना अनवर खान, मौलाना अफरुद्दीन, मौलाना सादिक, र मौलाना तौलिक हुसेनले पनि यो तालिममा संलग्न भएको भनिएको छ।
समाचारले भनेको छ कि फुलटेकरा मदरसामा नेपालका मुस्लिम युवालाई भारतविरुद्ध उक्साउने काम भइरहेको छ र यो भविष्यमा भारतको सुरक्षामा ठूलो चुनौती बन्नसक्छ। उत्तर प्रदेश प्रहरीको गुप्तचर प्रतिवेदनलाई उद्धृत गर्दै लेखिएको छ कि बाँके जिल्लाका यी मदरसाहरूमा वहाबी र आईएसआईको गतिविधिहरू चलिरहेका छन्। साथै, यो गतिविधि नेपाल–भारत सम्बन्धलाई बिगार्ने षड्यन्त्रको रूपमा रहेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले यी समाचारलाई पूर्ण रूपमा अफवाह भनेका छन्। लिमरा खबरसँगको कुराकानीमा उनले बाँके जिल्लामा हालसालै मात्र मोहर्रम, चाहलेम,मोहम्मद डे जस्ता मुस्लिम चाडपर्वहरू शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै पनि असामान्य गतिविधि नभएको स्पष्ट पारेका छन्। उनले बाँके जिल्लामा सञ्चालित मदरसाहरूका बारेमा भारतीय पक्षबाट आधिकारिक, अनौपचारिक वा कुनै पनि गुनासो नआएको बताए।
उनका अनुसार, मदरसाहरू नियमित रूपमा स्थानीय प्रशासनको निगरानीमा सञ्चालित छन् र त्यहाँ कुनै पनि आपराधिक वा आतंकवादी गतिविधि भएको पाइएन। बाँकेमा रहेका मदरसाहरूले स्थानीय मुस्लिम समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिने काम गर्दै आएका छन् र त्यहाँ आतंकवादको गतिविधि भएको कुनै प्रमाण छैन।
भारत-नेपाल सीमा र सुरक्षा चुनौती नेपाल र भारतबीच १,७५८ किलोमिटरको खुला सीमा रहेको छ जसका कारण दुई देशका नागरिकहरू बिना भिसा वा पासपोर्ट आवतजावत गर्न सक्छन्। यस सीमा पार गर्न सयौँ अवैध पैदल मार्गहरू रहेका छन् जसले गर्दा तस्करी र आपराधिक गतिविधिहरूको जोखिम उच्च रहेको छ। यसकारण, दुवै देशका सुरक्षा निकायहरूले सीमामा कडा निगरानी राख्नु पर्ने आवश्यक देखिन्छ। भारतको उत्तर प्रदेश राज्यसँग मात्र नेपालसँग ५७० किलोमिटर सीमा जोडिएको छ र यहाँका विभिन्न जिल्लाहरूबाट मानिसहरू सजिलै आवतजावत गर्न सक्छन्।
भारतीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका यस्ता समाचारले दुई देशबीचको सम्बन्धमा गलत प्रभाव पार्न सक्छ। नेपाल र भारतबीच ऐतिहासिक रूपमा निकै सुमधुर सम्बन्ध रहेको छ, तर यस्ता आधारहीन आरोपहरूले यी सम्बन्धहरूमा तनाव उत्पन्न गर्न सक्ने सम्भावना रहेको छ। नेपाल–भारत सम्बन्धलाई खराब पार्ने कुनै पनि गतिविधि न त नेपाल सरकारले स्वीकार गर्छ, न त नेपाली जनताले।
सम्झौता र समन्वयको आवश्यकता: नेपाल र भारतले सीमा सुरक्षा सुदृढ गर्न तथा आपराधिक गतिविधिहरू रोक्न निरन्तर सहकार्य गर्न आवश्यक छ। दुवै देशका सुरक्षा निकायहरूबीच थप समन्वय आवश्यक छ ताकि यस्ता अफवाहले दुई देशको सम्बन्धमा दरार ल्याउन नपाओस्। साथै, दुबै देशले साझा सीमा क्षेत्रमा रहेका विभिन्न चुनौतिहरूको सामना गर्न मिलेर काम गर्नुपर्ने देखिन्छ।