बाँके भाद्र ११ गते
नेपालगञ्जस्थित ज्ञानसागर माध्यमिक विद्यालय परसपुरमा नियमित शिक्षक शैक्षिक प्रस्तुति अन्तर्गत आज नेपाली विषयका शिक्षक लक्ष्मी पौडेलद्वारा “सामाजिक मनोविज्ञान” विषयमा प्रस्तुति सम्पन्न भएको छ। विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन हरेक हप्ता आयोजना गरिने यस प्रकारको प्रस्तुतिमा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रस्तुतिको सुरुवातमा विद्यालयका प्रधानाध्यापक होमराज खड्काले कार्यक्रमको उद्घाटन गर्दै शिक्षकहरूलाई शैक्षिक प्रस्तुतिका माध्यमबाट सिकाइमा नयाँ विचार र दृष्टिकोण प्राप्त हुने बताउँदै, यस प्रकारका कार्यक्रमलाई विद्यालयमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
लक्ष्मी पौडेलले “सामाजिक मनोविज्ञान” विषयमा आफ्नो प्रस्तुति राख्दै यसले शिक्षण सिकाइ प्रक्रियामा कस्तो प्रभाव पार्छ र यसको महत्त्व के छ भन्नेबारे प्रस्ट्याउनुभयो। उहाँले समाजमा व्यक्तिहरूको व्यवहार, सोचाइ, र विचारहरू कसरी शिक्षण प्रक्रियामा घुलमिल हुन्छन् भन्नेबारे गहन रूपमा चर्चा गर्नुभयो। उहाँको भनाइमा शिक्षण विधामा सामाजिक मनोविज्ञानको उचित प्रयोगले विद्यार्थीहरूलाई व्यक्तिगत तथा सामाजिक रुपमा सकारात्मक प्रभाव पार्न सक्छ।
यसले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सुधार ल्याउनुका साथै उनीहरूको व्यवहारिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। प्रस्तुतिको दौरानमा शिक्षकहरूले पनि आफ्नो विचार र अनुभव बाँडे, जसले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो। यस अवसरमा प्राविधिक सहयोग शिव काफ्लेले गर्नुभएको थियो।
कार्यक्रमपछि शिक्षक लक्ष्मी पौडेलले आफ्नो अनुभव साझा गर्दै यस प्रकारका प्रस्तुतिहरूले शिक्षण पेशामा नयाँ दृष्टिकोण प्रदान गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षण पेशामा निरन्तर परिवर्तनशीलता र नयाँ ज्ञानको खोजी हुनुपर्छ। सामाजिक मनोविज्ञानजस्ता विषयहरूले विद्यार्थीहरूसँगको अन्तरक्रिया, उनीहरूको मनोविज्ञान बुझ्न र शिक्षण विधि सुधार्न मद्दत पुर्याउँछ।”
विद्यालयका प्रधानाध्यापक होमराज खड्काले सहभागी शिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्तो शैक्षिक कार्यक्रमलाई आगामी दिनहरूमा अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामीले शिक्षण पेशालाई सधैं प्रगतिशील राख्नुपर्ने हुन्छ। यसका लागि निरन्तर सिकाइ र नयाँ विधिहरूको प्रयोग गर्नुपर्ने आवश्यकता छ।”
साझा छलफलपछि, आउँदो हप्ताको शैक्षिक प्रस्तुति प्राथमिक तहका शिक्षक मदन शाहले गर्ने निर्णय गरिएको छ। शिक्षक मदन शाहले “प्राथमिक शिक्षामा बालमनोविज्ञान” विषयमा आफ्नो प्रस्तुति दिने बताइएको छ।
ज्ञानसागर माध्यमिक विद्यालयमा हरेक हप्ता शिक्षकद्वारा गरिने शैक्षिक प्रस्तुतिले विद्यालयको शैक्षिक वातावरणलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस प्रकारका प्रस्तुति कार्यक्रमहरूले शिक्षकहरूको क्षमता अभिवृद्धिमा समेत मद्दत पुर्याउने विद्यालयले विश्वास लिएको छ।