चन्द्रौटा भाद्र १० गते।
लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले सीमा नाकामा अहोरात्र पहरा दिँदै खुला सीमा नाकाका कारण हुने अवैध ओसारपसारविरुद्ध कडाइका साथ काम गरिरहेको छ। विशेषगरी, सीमावर्ती जिल्लाहरूमा हुने अवैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निरन्तर सक्रियता देखाउँदै आएको छ। सशस्त्र प्रहरीले गत साउनदेखि असोजको पहिलो सातासम्म करिब ७ करोड ७४ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गर्न सफल भएको छ।
लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नम्बर ५, विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा अन्तर्गतका सीमा क्षेत्रका विभिन्न जिल्लामा तैनाथ सशस्त्र प्रहरी कार्यालयहरूले यस अवधिमा उल्लेख्य परिणाम हात पारेका छन्। विशेषगरी, कपडा, किराना सामग्री, चिनी, मोटर पार्ट्स, मोबाइलको डिस्प्ले, कुखुरा लगायतका अन्य वस्तुहरू अवैध रुपमा नेपाल भित्र्याउने प्रयास भइरहेको पाइएपछि ती सामग्रीहरू बरामद गरिएको हो।
विन्ध्यवासिनी बाहिनीका अनुसार, सबै बरामद गरिएका सामानलाई सम्बन्धित जिल्लाका भन्सार कार्यालयमा बुझाइएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लुम्बिनी प्रदेशभर सशस्त्र प्रहरीले ५ करोड रुपैयाँभन्दा बढीका अवैध सामग्रीहरू बरामद गरेको थियो। यस वर्ष भने यो संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ।
सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा मात्र नभई, मानव बेचबिखन, लागूऔषध कारोबार, र सीमा क्षेत्रमा हुने अन्य आपराधिक गतिविधिहरूमा पनि कडा निगरानी गरिरहेको छ। लुम्बिनीका सीमावर्ती ७ जिल्लामा मानव बेचबिखन र लागूऔषधको कारोबारको रोकथामका लागि विशेष अभियानहरू सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले नागरिक सुरक्षामा पनि विशेष ध्यान दिएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षाका लागि १७ स्थानहरूमा चौबिसै घण्टा हेल्थ डेस्क सञ्चालन गरिरहेको छ। भदौ महिनामा मात्रै सन्चालित हेल्थ डेस्कहरूबाट ४ हजारभन्दा बढी नागरिकहरूले स्वास्थ्य सेवा लिएका छन् भने असोजको पहिलो सातासम्म थप १ हजारभन्दा बढीले सेवा लिइसकेका छन्।
नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै, लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बाहिनीले स्थानीय प्रशासन, नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल, र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै सुरक्षा व्यवस्था कडा पारिसकेको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने सम्भावित आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न स्थानीय निकायसँग मिलेर काम गरिरहेको छ।
केही समय अघि मात्र सशस्त्र प्रहरी लुम्बिनीको नेतृत्व सम्हाल्न आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रदीप कुमार पालले सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध कुनै सम्झौता नगर्ने बताएका छन्। आफ्नो निरीक्षण भ्रमणका क्रममा उनले सशस्त्र प्रहरीलाई आफ्नो जिम्मेवारी पूर्ण कर्तव्यनिष्ठाका साथ बहन गर्न निर्देशन दिएका छन्। डिआइजी पालको निर्देशनपछि सशस्त्र प्रहरी झनै सक्रिय बनेको छ र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।