बाँके असोज ६ गते ।
बाँकेमा भ्रष्टाचार विरूद्धको ‘द डार्क फाईल’ अभियानको जिल्ला कमिटी गठन गरिएको छ। यो अभियानको संयोजकमा टंक रेग्मीलाई चयन गरिएको हो। आइतबार बाँकेमा आयोजित एक कार्यक्रममार्फत यो कमिटी गठन भएको छ ,भ्रष्टाचारको विरुद्धमा जनचेतना जगाउन र अनुचित क्रियाकलापहरूलाई उजागर गर्न यो अभियानको सुरुवात गरिएको बताइएको छ।
‘द डार्क फाईल’ अभियानको सहसंयोजकहरूमा दिनेशराज न्यौपाने, सुजाता खरेल, कृष्ण दर्शन, वीर बहादुर खत्री, शंकर न्यौपाने, छत्र सुनार, राम फिरजन यादव, अनिश साई, प्रेम सुनार, र भगतराम थारू रहेका छन्। साथै, प्रवक्तामा केपी घिमिरेलाई नियुक्त गरिएको छ। यी व्यक्तिहरूले जिल्लामा भ्रष्टाचार विरूद्धको अभियानलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।
यस अभियानमा सल्लाहकारको रूपमा दिपेन्द्र किशोर जोशी, देवन्द्रनाथ शुक्ला, तारा प्रसाद रेग्मी, र सूर्यलाल यादवलाई चयन गरिएको छ। सल्लाहकारहरूको भूमिका भनेको अभियानलाई मार्गदर्शन दिनु र आवश्यक परामर्श प्रदान गर्नु हो।
‘द डार्क फाईल’ अभियानका केन्द्रीय संयोजक राजकुमार तिमिल्सिनाले कार्यक्रममा भ्रष्टाचारको विरुद्धमा सशक्त आवाज उठाउन आवश्यक भएको बताए। उनले भने कि भ्रष्टाचारले समाजमा व्याप्त विकृति, विसंगति र अन्यायलाई बल पुर्याएको छ, जसको विरुद्ध सबैले एकजुट भएर लड्नुपर्ने समय आएको छ।
तिमिल्सिनाले भ्रष्टाचारविरुद्धको यो अभियानलाई सफल बनाउन सबै तह र तप्काका व्यक्तिहरूको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए। उनले भनाइमा भ्रष्टाचारले समाजमा अन्याय र अत्याचारलाई बढावा दिएकाले अब सबैले मिलेर यसको जरो उखेल्नुपर्ने बताए।
अभियानको उद्देश्य भनेको भ्रष्टाचारजन्य क्रियाकलापहरूको पहिचान गर्नु, दोषीलाई कानूनी दायरामा ल्याउनु र जनताको बीचमा सचेतना फैलाउनु हो। अभियानका सदस्यहरूले बाँके जिल्लामा भ्रष्टाचारको अन्त्यका लागि कडा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाजमा भ्रष्टाचारले फैलाएको असमानता र अन्यायलाई समाप्त पार्नका लागि ‘द डार्क फाईल’ अभियानले प्रभावकारी कदम चाल्ने अपेक्षा गरिएको छ।