मंसूर अली इद्रिशी
बाँके असोज ६ गते-पूर्व मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष हिरालाल लोनिया र पूर्व मन्त्री मोहम्मद इस्तियाकबीच पुनः मिलन भएको छ। हिरालाल लोनियाले नेपाली कांग्रेस पार्टीलाई परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। यस कार्यक्रमलाई जसपा पार्टीका केन्द्रिय महासचिव तथा पूर्व मन्त्री मोहम्मद ईश्तियाक राईले शनिबार एक औपचारिक कार्यक्रमका बीच पार्टीमा स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री राईले भने, “म र हिरालाल लोनियाले मधेसी जनअधिकार फोरममा रहँदा दिन रात खटेर काम गरेका थियौं। हिरालाल लोनियाले त्यतिबेला १४ महिना जेल जीवन बिताउनुपरेको थियो, जुन मधेसी जनअधिकार फोरमलाई उचाइमा पुर्याउन ठूलो योगदान साबित भयो।” राईले थपे, “अब हिरालाल लोनियाले नेपाली कांग्रेस पार्टी छोडेर जसपा पार्टीमा प्रवेश गरेसँगै, म विश्वस्त छु कि उनी नेतृत्वमा जसपा अझ बलियो बन्नेछ र यसले कार्यकर्तामा नयाँ उत्साह पैदा गर्नेछ।”
पार्टी प्रवेश गर्दै हिरालाल लोनियाले भने, “म अझै पनि मधेसी जनतामा जनचेतना ल्याउने लक्ष्य राखेको छु। मधेसी जनतामा अझै राजनीतिक चेतनाको कमी रहेको छ । जसका कारण उनीहरू आफ्ना अधिकारबाट वञ्चित भइरहेका छन्।” उनले उदाहरण दिँदै भने, “खजुरामा मधेसी समुदायमाथि कुनै समस्या पर्दा, बेतहनीमा टायर बल्नुपर्ने अवस्था आउँछ। यो हामीले हाम्रो राजनीतिक चेतनाको कमीको परिणाम हो भन्ने मैले बुझेको छु।”
यस अवसरमा हिरालाल लोनियाले आफ्नो विगतको संघर्षलाई स्मरण गरे। उनले भने, “मधेस आन्दोलनको समयमा मैले जसरी जेल जीवन बिताएँ, त्यो समय हाम्रो आन्दोलनको एउटा महत्वपूर्ण पाटो थियो। हामीले जसरी त्यतिबेला संघर्ष गर्यौं, त्यसले मधेसको मुद्दालाई राष्ट्रियस्तरमा स्थापित गर्यो। अहिले जसपा पार्टीमा प्रवेश गरेर, म फेरि मधेसी जनताको मुद्दामा सक्रिय भएर काम गर्न चाहन्छु।”
सो कार्यक्रममा अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो। जसपा पार्टीका केन्द्रिय महासचिव तथा पूर्व मन्त्री मोहम्मद ईश्तियाक राई, लुम्बिनी प्रदेशका नेता जयप्रकाश बर्मा, माजिद शेष, जिल्ला संगठन विभाग प्रमुख अतहर हुसेन फारुकी, जिल्ला सचिव राजेन्द्र बिश्वकर्मा, नगर अध्यक्ष अरुण सिंह, शिक्षक संघ अध्यक्ष आदित्य बर्मा, युवा अध्यक्ष मोहम्मद अहमद राई, र जसपा जानकी गाउँपालिकाका अध्यक्ष धर्मराज बर्मा लगायतका नेताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।
उक्त कार्यक्रममा बोल्दै नेताहरूले मधेसी जनताको अधिकारका लागि अझ धेरै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए। उनीहरूले भने, “मधेसको मुद्दा अझै पनि पूर्ण रूपमा समाधान भएको छैन, र यसका लागि नयाँ पुस्तालाई राजनीतिक रूपमा सशक्त बनाउन जरुरी छ। हिरालाल लोनियाको पुनः पार्टीमा सक्रिय सहभागिताले यो आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनेछ।”
यस प्रकारको कार्यक्रमले जसपा पार्टीलाई लुम्बिनी प्रदेशमा थप बलियो बनाउने अपेक्षा गरिएको छ। पार्टीमा नयाँ नेतृत्वको आगमनसँगै कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह देखिएको छ।