नेपालगञ्ज असोज ४ गते।
बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १, बढैयामा चाइनिज लसुनको तस्करी दिन प्रतिदिन बढ्दै गएको छ। भारतसँगको खुला सीमाका कारण यस क्षेत्रमा तस्करीको क्रम तीव्र बनेको छ। भारत सरकारले तेस्रो मुलुकबाट लसुन आयातमा प्रतिबन्ध लगाएपछि, भारतीय बजारमा लसुनको भाउ आकाशिएको छ। यसै मौकामा नेपाली तस्करहरु भारतीय व्यापारीहरुसँग मिलेर अवैध रुपमा लसुनको कारोबार गर्दै आएका छन्।
मुख्यत: जमुनाहा नाकाको पश्चिम बडैया पचपोखरा साईगाउँ लगायत खुला सीमाबाट चाइनिज लसुन तस्करी गरिन्छ। नेपालमा चाइनिज लसुन प्रतिकिलो २७० रुपैयाँमा पाइन्छ भने भारतमा यसको मूल्य ४५० रुपैयाँसम्म छ। किलोमै १३० रुपैयाँ नाफा हुने भएपछि यस बडैया क्षेत्रमा तस्करीले ठुलो बजार बनाएको छ। विशेषगरी रातको समयमा लसुन नेपालबाट भारत पठाउन तस्करहरु सक्रिय हुने गरेका छन्।
बढैयागाउँमा व्यापारीहरुले लसुनका गोदामहरु बनाएका छन् र त्यहाँबाट लसुन भण्डारण गरेर तस्करीको तयारी गर्छन्। स्रोतका अनुसार, तस्करहरुले रातिको समयमा लसुनलाई दशगजाबाट पार गर्दै भारतीय भूमिमा पुर्याउँछन्। जंगे पिलर नम्बर ५४ को बीचबाटो भएर भरियाहरुले टाउकोमा बोकेर लसुन लैजाने गरेका छन्। नेपालबाट लसुन पुर्याएर उनीहरुले भारतबाट कपडा ल्याउने काम पनि गरिरहेका छन्।
बढैयागाउँको नजिकै रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट नजिकैबाटै तस्करहरुले लसुन झार्ने गरेको बताइन्छ। सशस्त्र प्रहरीको उपस्थिति भए पनि तस्करी रोक्न खासै प्रयास गरिएको देखिँदैन। तस्करीको सम्बन्धमा सशस्त्र प्रहरीले भने आफूहरुलाई केही जानकारी नभएको दाबी गरेका छन्। तर, स्थानीय स्रोतहरुका अनुसार, सशस्त्र प्रहरीकै मिलेमतोमा दैनिक २० क्विन्टल लसुन तस्करी भइरहेको छ।
लिमरा खबरले स्थलगत रिपोर्टिंग गर्दै, यस क्षेत्रमा लसुन र कपडा तस्करी भइरहेको प्रमाण फेला पारेको छ। रिपोर्ट अनुसार, रातको समयमा गाडीबाट लसुनलाई दशगजा नजिकैको बढैयागाउँमा झारेर भारतीय भूमिमा पुर्याइन्छ। स्थानीय तस्करहरु सशस्त्र प्रहरीको सेटिङ्गमा यो काम गरिरहेका छन् भन्ने गुनासो पनि आएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी हेडक्वाटर बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले भने यस खालको तस्करी रोक्न कडा निर्देशन दिएको बताएका छन्। उनले आफ्ना मातहतका बिओपी प्रमुखहरुलाई सख्त कदम चाल्न आग्रह गरेको पनि जानकारी दिएका छन्।
तर, तस्करी रोकथामका लागि उठाइएका यी कदमहरु प्रभावकारी देखिएका छैनन्। सीमा बढैया क्षेत्रमा लसुनको तस्करी नियन्त्रणमा चुनौतीपूर्ण देखिएको छ। भारतमा लसुनको भाउ उच्च रहेको र नाफाको मात्रा आकर्षक भएकाले तस्करहरु यो गतिविधिमा लागिरहेका छन्। खुला सिमाना र सुरक्षाकर्मीहरुसँगको मिलेमतोले गर्दा यो अवैध व्यापारले दिन प्रतिदिन जरो गाड्दै गएको छ।
सीमा क्षेत्रमा भएको तस्करीले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ भने भारतको लसुन बजारमा पनि विकृतिलाई बढावा दिने देखिन्छ। तसर्थ, दुवै देशका सुरक्षाकर्मीले कडा कदम चालेर यो अवैध व्यापारलाई रोक्न आवश्यक रहेको छ।