मंसूर अली इद्रिशी
बाँके असोज २ गते –नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ भवनियापुरस्थित माध्यमिक विद्यालय महेन्द्रनगरमा बुधबार एक अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयको व्यवस्थापन सुधार र भविष्यको योजना तय गर्न आयोजित उक्त भेलामा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका अधिकृत भीमबहादुर बुढाथोकी विशेष अतिथि रहनु भएको थियो भने वडाध्यक्ष मजहर अली साईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।
उक्त भेलामा वडा सदस्य सन्तोष कुमार मिश्र, स्थानीय जनप्रतिनिधिहरु, र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता वडाध्यक्ष मजहर अली साईंले गर्नु भएको थियो, जसमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक जगदीश द्विवेदीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नु भएको थियो। उहाँले विद्यालयको वर्तमान शैक्षिक स्थिति, चुनौतीहरू र आगामी योजनाबारे प्रकाश पार्नु भयो। प्रधानाध्यापक द्विवेदीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि अभिभावकहरुको सशक्त सहभागिता आवश्यक रहेको बताउँदै यस प्रकारका भेलाहरुले विद्यालय र अभिभावक बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने धारणा राख्नुभयो।
भेलामा विद्यालय व्यवस्थापन समितिका लागि अभिभावक प्रतिनिधिहरु चयन गर्ने महत्वपूर्ण कार्य पनि सम्पन्न भएको थियो। अभिभावकहरूको सर्वसम्मत निर्णय अनुसार गुलाम रसूल साईं, धनीराम चमार र दुई जना महिलालाई समितिमा चयन गरिएको छ। यो निर्णयले विद्यालयको व्यवस्थापनमा अभिभावकहरूको सक्रिय भूमिका रहने विश्वास गरिएको छ।
यसबाहेक, प्रधानाध्यापक द्विवेदीले अभिभावक शिक्षक संघ र विद्यालय व्यवस्थापन समितिको पूर्णता दिनका लागि अर्को बैठकमा थप निर्णय गरिने जानकारी पनि दिनुभयो। यो बैठकमा शिक्षक प्रतिनिधिहरु, अभिभावक, र स्थानीय समुदायका सदस्यहरुबीच विद्यालयको समग्र प्रगति र सुधारका उपायहरुमाथि थप छलफल गरिनेछ।
भेलामा शिक्षक, विद्यार्थी, र अन्य सहभागीले विद्यालयको भौतिक पूर्वाधार सुधार, अतिरिक्त क्रियाकलापहरूको प्रबर्द्धन, र विद्यार्थीहरुको शैक्षिक विकासका लागि अभिभावकहरुको सक्रियता कति आवश्यक छ भन्ने विषयमा विचार विमर्श गरेका थिए। विद्यालयले आगामी दिनहरुमा शिक्षा र व्यवस्थापनमा सुधार ल्याउन अभिभावकहरुको सुझावलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यो भेला अभिभावक र विद्यालय व्यवस्थापनबीचको संवादलाई सुदृढ बनाउने महत्वपूर्ण कदमको रुपमा हेरिएको छ, जसले आगामी दिनमा विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।