नेपालगन्ज असोज १ गते ।
जनता समाजवादी पार्टी (जसपा) बाँकेले नेपालगन्ज उपमहानगरपालिका-२० नम्बर वडा समितिको आयोजनामा वडा स्तरीय भेला सम्पन्न गरेको छ। उक्त भेला बाँके जिल्लाको मनिकापुरमा आयोजना गरिएको थियो। भेलामा प्रमुख अतिथि जनता समाजवादी पार्टीका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा २१ सदस्यीय नयाँ समिति गठन गरिएको छ। यो समिति तुलसीराम अहिरको अध्यक्षतामा पुनर्गठन गरिएको हो।
विशिष्ट अतिथिका रुपमा लुम्बिनी प्रदेशसभा सदस्य भण्डारी लाल यादव, प्रदेशसभा सदस्य आदेश अग्रवाल, जसपा बाँकेका अध्यक्ष दुर्गाप्रसाद वर्मा र नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनौजियासहित विभिन्न नेताहरुको उपस्थिति रहेको थियो।
भेलामा प्रमुख अतिथि पूर्ब मंत्री राईले जनताको आवाज र समस्यालाई सम्बोधन गर्ने कुरा राख्दै जनताको हितमा काम गर्न जसपा सँधै तयार रहेको बताउनुभयो। उहाँले स्थानीय तहदेखि प्रदेश र संघीय तहसम्म जनताको प्रतिनिधित्व सुनिश्चित गर्ने दिशामा काम गर्दै आइरहेको उल्लेख गर्नुभयो। विशिष्ट अतिथिहरुले पनि जसपाले स्थानीय विकास, सामाजिक न्याय र समृद्धिको अभियानलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रममा सहभागी नेताहरुले वडा समितिको भूमिका, स्थानीय तहमा विकासका योजनाहरुको कार्यान्वयन, जनताको सहभागिता र उनीहरुको योगदानको महत्वबारे प्रकाश पारे।
वडा नम्बर २० का नयाँ समिति गठनसँगै जसपा बाँकेले स्थानीय जनताको समस्यालाई समाधान गर्ने, समाजमा न्याय र समृद्धि ल्याउने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ। यस प्रकारका कार्यक्रमले पार्टी संगठनलाई सुदृढ बनाउनुका साथै जनताको बीचमा विश्वासको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।