नेपालगन्ज असोज १ गते ।
बाँके जिल्लाका नयाँ ट्राफिक प्रमुख पुष्कर राज पन्तले कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कार्यकालका प्राथमिकताहरू स्पष्ट पार्दै ट्राफिक नियमहरूको पूर्ण पालना गराउन दृढ संकल्प रहेको बताएका छन्। उनले विशेष गरी ट्राफिक प्रहरीले भोग्दै आएका आलोचनाहरूको अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन आम नागरिक तथा सम्बन्धित निकायसँग हातेमालो गरेर अगाडि बढ्ने उनले बताए।
पन्तले बाँके जिल्लाका लागि आफू नयाँ भएकोले यहाँको भौगोलिक, सामाजिक र ट्राफिक परिवेशबारे अझै जानकार नभएको बताए। त्यसकारण उनले स्थानिय पत्रकारहरूलाई सुझाव दिन आग्रह गरे। यसअवसरमा उनले बाँकेमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सञ्चारकर्मीहरूको राय र सहकार्यको अपेक्षा रहेको स्पष्ट पारे। पन्तले भने, “म नयाँ भएकाले यहाँको परिस्थिति बुझ्न तपाईहरूको सहयोग महत्वपूर्ण छ। यसलाई हामी सबै मिलेर अगाडि बढाउनुपर्छ।”
बाँके जिल्लामा हाल सडक सुरक्षाको जोखिम उच्च रहेको सम्बन्धित निकायले पनि उल्लेख गर्दै आएका छन्। यसबारे पन्तले स्थानीय नागरिक र सरोकारवालाहरूले उठाएको चिन्ता सम्बोधन गर्दै ट्राफिक प्रहरीले पनि सडक सुरक्षा सुधारको विषयमा गम्भीर ध्यान दिनुपर्ने बताए। हाल जिल्लामा मात्र २४ जना ट्राफिक प्रहरी तैनाथ रहेको र सीमित जनशक्तिका कारण लक्ष्य अनुरूपको कार्य सम्पादन गर्न गाह्रो भएको उनले स्वीकार गरे। यद्यपि, पन्तले जनशक्तिको अभावका बाबजुद पनि ट्राफिक व्यवस्थापनलाई सुधार्न विभिन्न कदमहरू चाल्ने प्रतिबद्धता व्यक्त गरे।
चाडपर्वको समय नजिकिँदै गर्दा, बाँके जिल्ला ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र सम्भावित दुर्घटनाहरू रोक्न विशेष सुरक्षा योजना अघि सारेको पन्तले जानकारी दिए। यस योजना अन्तर्गत मापसे जाँचलाई कडाइका साथ लागू गरिने र नेपालगन्ज, कोहलपुरजस्ता मुख्य स्थानहरूमा ट्राफिक प्रहरीको उपस्थिति नियमित गरिने उनले उल्लेख गरे। सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीको उपस्थिति सुदृढ गर्नुका साथै ड्राइभरहरूलाई सचेत बनाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने बताए।
पन्तले यो अभियान सफल बनाउनका लागि स्थानीय नागरिक समाजको सहभागिता र सहकार्यलाई अपरिहार्य भनेका छन्। “ट्राफिक नियमको पालना गर्न र सुरक्षित सडक व्यवस्थापन गर्न नागरिक समाज, सञ्चारमाध्यम र स्थानीय तहको सहयोग जरुरी छ,” उनले भने। यस अभियानमा सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो।
पन्तले अन्त्यमा सबैलाई ट्राफिक नियमहरूको पालना गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न अपिल गरे। उनी भविष्यमा बाँके जिल्लाको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउन आफू र आफ्नो टोली निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए।