नेपालगञ्ज भाद्र ३० गते ।
भारत-नेपाल सीमा क्षेत्रको रुपैडिहाबाट ठूलो मात्रामा अवैध लागूऔषध अफिमसहित एक नेपाली दम्पतीलाई पक्राउ गरिएको छ। सीमा सुरक्षा बल (एसएसबी) ४२ बी का कमाण्डेन्ट गंगासिंह उदावतको निर्देशनमा इन्स्पेक्टर सत्येन्द्र सिंहले नेतृत्व गरेको सघन चेकिङ अभियानमार्फत भाद्र २५ गते उक्त लागूऔषध बरामद गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा ५० वर्षीय पवाङ निवासी बरिलाल घर्ती र रुकुमको सिस्ने गाउँपालिका वडा नं ५ निवासी ३९ वर्षीया नरमाया घर्ती रहेका छन्। उनीहरूको साथबाट २ किलो १ सय ६० ग्राम अफिमसहित दुई थान एन्ड्रोइड मोबाइल पनि बरामद गरिएको छ।
भारतीय प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो। एसएसबी ४२ बी को टोलीले सीमामा लागुऔषध ओसारपसार नियन्त्रण गर्न चेकिङ अभियानलाई अझै कडा बनाएको छ।
यो सफलतापूर्वक सम्पन्न अपरेसनमा इन्स्पेक्टर सत्येन्द्र कुमार सिंहसहित सहायक उपनिरीक्षक सन्तोष कुमार विश्वास, उपेन्द्र सिंह, हेड कन्स्टेबल गजेन्द्र सिंह, शकील अहमद अन्सारी, हवल्दार कमलेश कुमार, महिला हवल्दार सविता दास, टी. यमुना, सुप्रिया भारती, मोहिनी, र कुकुर ह्यान्डलर मोहम्मद फारुकको टोलीको मुख्य भूमिका रहेको बताइएको छ। कुकुर रान्कोको सहायताले उनीहरूलाई पक्राउ गर्न सफल भएको जनाइएको छ।
पक्राउ परेका दम्पतीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। सीमा क्षेत्रका यस्तो किसिमका घटनाहरू रोक्न सुरक्षा निकायहरू सतर्क छन्। अवैध लागूऔषध ओसारपसारमा संलग्नहरूलाई कानुनी कारबाही गरिने जनाएको छ।