नेपालगन्ज भाद्र २५ गते ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्ला प्रवेश निषेध गर्ने निर्णय गरेको छ। सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तिलकले मन्त्री कुर्मीलाई गृह जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्।
उक्त पार्टीले निर्मला कुर्मीको बेपत्ता र हत्याका मुख्य अभियुक्त मन्त्री कुर्मीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। पार्टीले भदौ २५ देखि असोज १ गतेसम्म १ लाख जनताको हस्ताक्षर संकलन गरेर लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। साथै, मन्त्री कुर्मी संलग्न सबै प्रकारका सामाजिक कार्यक्रमहरू बहिष्कार गर्ने घोषणा गरिएको छ।
त्यस्तैगरी, सांसद धन बहादुर केसी (डिबी)लाई पूर्व रुकुम प्रवेशमा रोक लगाउने चेतावनी दिइएको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा न्यायाधीश लोकबहादुर हमाललाई सांसद केसीलाई उन्मुक्ति दिएकोमा आलोचना गरिएको छ। विज्ञप्तिमा हमालको घरमा कालो ब्यानर टाँस्ने र भाद्र ३१ गते उनको पुत्ला दहन गर्ने योजना समेत सार्वजनिक गरिएको छ।
निर्मला कुर्मी प्रकरणमा मन्त्री कुर्मीमाथि गम्भीर आरोप लगाइएको छ। निर्मलाका आफन्त र अधिकारकर्मीहरूले लामो समयदेखि न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन्। अदालतमा मुद्दा पठाउने सरकारी सहमति भए पनि पीडितहरूले मन्त्री पदमा रहेका मुख्य अभियुक्त कुर्मीलाई संरक्षण दिएको भन्दै सरकारको आलोचना गरेका छन्।
मन्त्री कुर्मीले आफूले कुनै अपराध नगरेको दाबी गरेका छन्। उनका अनुसार, उनलाई बारम्बार अनुसन्धान गरिएको भए पनि दोषी प्रमाणित हुन नसकेकाले आफू निर्दोष रहेको बताएका छन्। मन्त्री कुर्मीले भने, “ममाथि पटक-पटक अनुसन्धान भएको छ। म दोषी भएको भए प्रहरी प्रशासनले मलाई कहिल्यै छोड्ने थिएन।”
नेपालगन्ज परसपुरकी निर्मला कुर्मीको श्रीमानको २०६२ सालमा मृत्यु भएको थियो। केही वर्षपछि उनका दुई छोराको पनि रहस्यमय रूपमा मृत्यु भयो। त्यसपछि, बादसाह कुर्मीले उनको सम्पत्ति सुरक्षित राख्ने भन्दै लालपूर्जा र नागरिकता लिएका थिए। २०७५ सालमा निर्मला कुर्मी बेपत्ता भइन् र उनको नामको सम्पत्ति अरुको नाममा सारिएको थियो।