बाँके भाद्र २३ गते ।
प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगितामा लुम्बिनी प्रदेशले आफ्नो वर्चस्व कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा सम्पन्न भएको यस प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीहरूले नौ वटा तौल समूहमा प्रथम स्थान हासिल गर्दै प्रदेशको गौरवलाई थप उच्च बनाएका छन्।
महिलातर्फ, २१–२५ केजी तौल समूहमा लुम्बिनी प्रदेशकी राईका चौधरीले पहिलो स्थानमा रहँदै स्वर्ण पदक जितिन्। कर्णाली प्रदेशकी स्मृति बुढा दोस्रो स्थानमा रहिन् भने लुम्बिनीकी कृष्णा सारु मगर र कर्णाली प्रदेशकी जेनिशा शाहले तेस्रो स्थान हासिल गरे। २६–३० केजी तौल समूहमा लुम्बिनीकी दिव्या थापा पहिलो स्थानमा रहिन्, जबकी पुष्पा थापा दोस्रो स्थानमा र मानुसी थापा र आरिम विष्ट तेस्रो स्थानमा रहे।
३१–३५ केजी तौल समूहमा पनि लुम्बिनी प्रदेशको वर्चस्व देखियो। सङ्गीता खत्रीले पहिलो स्थानमा स्वर्ण पदक जितिन् भने कर्णालीकी सविता नेपालीले रजत पदक जितिन्। लुम्बिनी प्रदेशकी पूर्णिमा सुनार र कर्णालीकी कविता नेपाली तेस्रो स्थानमा रहिन्। ५०–५६ केजी तौल समूहमा, विनीता बुढाले पहिलो स्थानमा रहँदै लुम्बिनीलाई अर्को स्वर्ण दिलाइन्। सुदूरपश्चिम प्रदेशकी रुपा धामीले दोस्रो स्थानमा रजत जितिन् भने प्रेरणा विष्ट र लीला घर्तीमगरले तेस्रो स्थानमा रहँदै कास्य पदक जिते।
पुरुषतर्फ पनि लुम्बिनी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्यो। २०–२५ केजी तौल समूहमा अर्पति कठायतले पहिलो स्थानमा स्वर्ण पदक जिते भने कर्णालीका गौरव रोकायले दोस्रो स्थानमा रजत जिते। तेस्रो स्थानमा सुदूरपश्चिमका विपिन कुँवर र लुम्बिनीका श्याम खटिक रहे। ३१–३५ केजी तौल समूहमा शुभम् नेपालीले पहिलो स्थानमा रहँदै स्वर्ण पदक जिते, जबकी सुदूरपश्चिमका शुभम् कुँवरले दोस्रो स्थानमा रजत जिते।
यस्तै, ३६–४० केजी तौल समूहमा दीपेश पुन मगरले पहिलो स्थानमा रहँदै लुम्बिनीलाई अर्को स्वर्ण पदक दिलाए। दोस्रो स्थानमा विकल्प बस्नेत र तेस्रो स्थानमा मनोज राना र गोपाल सारुमगर रहे। ४१–४५ केजी तौल समूहमा सुदूरपश्चिमका भुपेस नाथ पहिलो स्थानमा रहे भने लुम्बिनीका रोहन विष्टले दोस्रो स्थानमा रजत जिते। आइटिएफ तेक्वान्दो बाँकेका पूर्व अध्यक्ष आकाश बर्माले विजेता महिला पुरुष खेलाडीलाई धन्यवाद व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशको यो वर्चस्वले प्रदेशको खेलकुद क्षमतालाई पुन: प्रमाणित गरेको छ।