नेपालगञ्ज भाद्र २१ गते।
बहेलिया चिडीमार विकास समाज बाँकेको साधारण सभा नेपालगञ्जमा सम्पन्न भएको छ। यस बहेलिया चिडीमार समाजको दोश्रो अधिवेशनबाट रामु चिडीमारलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको छ, भने तिरथ बहेलिया उपाध्यक्ष, सुखराम ठाकुर सचिव, हौसिलाल चिडीमार कोषाध्यक्ष र विनिता चिडीमारलाई सहसचिवको रुपमा चयन गरिएको छ। समितिका सचिव सुखराम ठाकुरले सो जानकारी दिनुभयो। साथै, १५ जना कार्यसमिति सदस्यहरु पनि चयन गरिएको छ।
कार्यक्रम नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १२ को सभाहलमा सम्पन्न भएको थियो। सभामा प्रमुख अतिथिका रुपमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले आफ्नो उपस्थिति जनाउनु भएको थियो। अन्य विशिष्ट अतिथिहरुमा वडा अध्यक्ष तरुण बज्राचार्य, युवा क्लबका अध्यक्ष मनबहादुर भण्डारी, जिल्ला अदालत बार एसोसिएसन अध्यक्ष चित्रबहादुर शाही, र कार्यपालिका सदस्य विक्रम चिडीमार लगायतका व्यक्तित्वहरु सहभागी थिए। अतिथिहरुले बहेलिया चिडीमार विकास समाजलाई समाजमा आपसी सदभाव र समन्वय गरेर अघि बढ्न सुझाव दिएका थिए।
मेयर प्रशान्त विष्टले आफ्नो सम्बोधनमा बहेलिया चिडीमार समुदायका लागि महानगरपालिकाले गर्न सक्ने सबै काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “तपाईहरुले मसानघाटको लागि जग्गा तयार गर्नुस्, हामी त्यसका लागि आवश्यक लगानी दिन तयार छौँ।” वडा अध्यक्ष तरुण बज्राचार्यले पनि वडाबाट हुने सबै सेवा र सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस कार्यक्रममा बहेलिया चिडीमार विकास समाजका पदाधिकारी, समाजसेवी, सञ्चारकर्मी र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। यस साधारण सभाले बहेलिया चिडीमार समाजलाई अझ बलियो बनाउन र समाजमा सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।