कैलाली भाद्र २१ गते ।
कैलाली जिल्लाको प्रहरी कार्यालयमा प्रवेश गर्दा मोबाइल फोन साथमा लैजान नपाइने नयाँ नियमले हाल सर्वत्र आलोचना र असन्तुष्टि पैदा गरेको छ। प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि यो नियम लागू भएको हो। यसअघि कार्यालय भित्र मोबाइल लिएर जान कुनै रोकतोक थिएन। अहिले भने कार्यालयमा प्रवेश गर्नुअघि सेवाग्राहीहरूले आफ्नो मोबाइल गेटमै राख्नुपर्ने बाध्यता छ।
नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष हिमालय जोशीले केही समय अघि प्रहरी प्रमुख विष्टलाई भेटेर यो नियमका बारेमा गुनासो राखेका थिए। उनले यस नियमले सेवाग्राहीहरूलाई असुविधा भएको र यसले सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई समेत असर गरेको बताएका थिए। पत्रकारहरूको काममा बाधा पुर्याउने र पारदर्शिता अभाव हुने भन्दै यो नियमको विरोध भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले भने यो निर्णयलाई उचित ठहर गरेको छ। प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट केही तस्विर र भिडियोहरू बाहिरिएका कारण सुरक्षा र गोपनीयताको ख्याल गर्दै यो नियम लागू गरिएको जनाइएको छ।
यसअघि मात्र नेपाल प्रहरीको हेडक्वाटरमा यस्तो नियम लागू गरिएको थियो, तर अब कैलालीमा पनि यो नियमले सबै सेवाग्राहीलाई लागू हुने भएको छ। यो नियमले आम सेवाग्राहीको दैनिक काममा प्रभाव परेको छ, तर प्रहरी कार्यालयले भने यो कदमले सुरक्षा व्यवस्थामा सुधार आउने बताउँदै आएको छ।