नेपालगञ्ज भाद्र १७ गते ।
बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा झाडापखालाको प्रकोपले चारजनाको ज्यान गएको छ ।भने सातजना बिरामी परेका छन्, नरैनापुर गाउँपालिका–३ अन्तर्गत गेगली गाउँमा यो प्रकोप फैलिएको हो।
मृत्यु हुनेहरूमा २५ वर्षीया रुसा पासी, उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी, र १० वर्षीय युसुफ अली रहेका छन्। यो जानकारी नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले दिएका छन्।
स्वास्थ्यकर्मीहरूको अनुसार गर्मी मौसम र दूषित खानेपानीका कारण झाडापखाला फैलिएको हुनसक्छ। नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले भने, “झाडापखाला फैलिनुमा दूषित पानी मुख्य कारण हुनसक्छ।”
भारतीय सीमासँग जोडिएको गेगली गाउँमा फैलिएको यो प्रकोप नियन्त्रण गर्न स्थानीय स्वास्थ्य कार्यालयले पहल थालेको छ। स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयास भइरहेको जानकारी पनि साहले दिएका छन्।
स्थानीय बासिन्दाहरूलाई सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ भने बिरामीहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरू तैनाथ गरिएका छन्।