मंसूर अली इद्रिशी
बाँके, साउन ५ गते-भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुरा आज बिहान सशस्त्र प्रहरी बलले बढैया बाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल फारवर्ड बेस साईगाउँका इन्चार्ज साई चित्र पुनको कमाण्डमा खटेको गस्ती टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटेको संयुक्त टोलीले भारतीय अवैध बोइलर कुखुरा जानकी गाउँपालिका वडा नम्बर १ बढैयाबाट बिहान बरामद गरेको हो।
सशस्त्र प्रहरी गस्तीमा हिँडेको बेला भारतबाट कुखुरा ल्याएर आउँदै रहेछन्, हामीलाई देख्ने वित्तिकै मोटरसाइकल पल्टाएर भागिहाल्यो,’ पुनले भने, ‘फरार व्यक्ति पेशेवर हो, यसअघि पनि बोइलर कुखुरा बोकेको उसको मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरिसकेका छौं।
भन्सार नाका छलि भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गर्दा दुई वटा मोटरसाइकलसहित ३ सय किलो बोइलर कुखुरा फारवर्ड बेस साईगाउँका ३ नम्बर चेकप्वाईन्टमा पक्राउ गरिएको नं. ३० गण हेडक्वार्टर बागेश्वरीका प्रवक्ता डिएसपी नरेश खड्काले लिमरा खबरलाई जानकारी दिए।
तस्करले कुखुरा बोक्न प्रयोग गरेको भे७प ८५७७, भे५प ९४१६ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको फरवर्ड बेस साईगाउँका इन्चार्ज साई चित्र पुनले जानकारी दिए। तिन क्विन्टल बोइलर कुखुरा तस्करले प्रयोग गरेको दुईटा मोटरसाइकलको अंदाजी मूल्य ३ लाख २० हजार मूल्य बराबरको उक्त कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन नेपालगञ्जमा बुझाइएको डिएसपी खड्काले जानकारी दिए।
स्रोतका अनुसार तस्करले बढैया नाकाबाट दिनहुँ जसो अवैध रूपमा भारतीय बोइलर कुखुरा भित्र्याउने गर्छन्। दिनहुँ बोइलर कुखुरा तस्करी भइरहँदा नजिकै रहेको बढैया बीओपीले चासो नदिएको र उक्त नाकाबाट बोइलर कुखुरा तस्करी हुँदा राज्यको लाखौं राजस्व गुमेको कुखुरा व्यवसायीको आरोप छ।