नेपालगन्ज सावन १ गते ।
मुस्लिम धर्मावलम्बीहरुको महानपर्व मोहर्रमको आठौं दिन नेपालगन्जमा ऐतिहासिक हुसैनी जुलुस निकालिएको छ । सोमवार राति १२ बजे नेपालगन्जको फुल्टेक्रा, भट्टा टोल, धम्बोजी र एकलैनीबाट हुसैनी जुलुस निस्केको थियो ।
मोहर्रम पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउन नेपालगन्जको बिभिन्न चौकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनात गरिएको थियो । शान्ति, सुरक्षासँगै सामाजिक सद्भावका लागि शान्ति सद्भाव समिति पनि दिनरात खटीएर काम गरिरहेको देखिन्थ्यो।
नेपालगञ्जको विभिन्न टोलबाट निस्केको हुसैनी जुलुस त्रिभुवन चोकमा मिलान गरिएको थियो । वडा प्रहरी कार्यालयको अगाडी हुँदै आएको जन्जीरी महतम गौसिया मस्जिद स्थित चोकमा आगको महतम र लाठि कला प्रदर्शन गरिएको फैज स्पोर्ट लाठी क्लबका अध्यक्ष अलि हुसेन राईले लिम्राखबरलाई बताए ।
बाँके जिल्लाको बिभिन्न ठाँउ र पडोसी देश भारतबाट समेत नेपालगंजको हुसैनी जुलुसमा सहभागी भएका थिए । हुसैनी जुलुसमा २० हजार भन्दा बढिको सहभागिता रहेको केन्द्रीय मोहरम समिति अध्यक्ष फिरोज हलवाईले बताए। हलवाईले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नेपालगन्जलाई सद्भावको सहरको रुपमा चिनाउने गरेको छ ।
मोहर्रमपर्ब लाई ब्यवस्थित, मर्यादित र शान्त बनाउन बाँकेका सुरक्षा प्रमुख एसपी तुलबहादुर कार्की आफै फिल्डमा खटिएका थिए । सोमवार राती भएको हुसैनी जुलुसमा एसपी कार्की आफै खटिएर सुरक्षा ब्यवस्था मिलाएको मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष फिरोज हल्वाई वारसीले एसपी कार्कीलाई धन्यवाद दिएका थिए।
मुस्लिम धर्मावलम्बीहरुको मोहर्रम पहिलो महिना हो, त्यसैले इस्लाम धर्मवलम्बिहरुले नयाँ वर्षको रूपमा खुशियाली मनाउने भएपनि मोहर्रम दुःखको महिना भएकोले मुस्लिम समुदायले यसलाई कर्बलाको शहिदहरूको सम्झनामा दुःखको रुपमा मनाउँदै आएको उनले बताए।