मंसुर अली इद्रीशी
बाँके जेठ २८ गते-हाम्रो सभ्यता, संस्कृति र पहिचान मात्र नभएर निरोगी तथा स्वस्थ जीवन यापनको लागि एक प्रमुख र बलियो अस्त्र हो सरसफाई । वैयक्तिक, पारिवारिक र सामाजिक मान, प्रतिष्ठा र इज्जतको विषय पनि हो सरसफाई ।
हामीलाई लाग्ने अधिकांश रोगहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरसफाईसँग जोडिएका हुन्छन भने केही सीमित रोगहरु मधुमेह, उच्च(रक्तचाँप, मुटुसम्बन्धी रोगहरु, क्यान्सर आदि) मात्र मानवीय जीवन शैली तथा वंशाणुगत रुपमा लाग्ने गर्दछन । केही रोगहरु जनावरहरुको टोकाई वा सम्पर्कबाट सर्दछन । यी बाहेक अन्य प्रायःजसो रोगहरु सरसफाई तथा हाम्रो सरसफाई अभ्याससँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्दछन ।
नेपालगञ्ज उपमहानगरले हिजोदेखि आजसम्म सरसफाईको महत्व दर्शाइरहँदा पनि आम मानिस मात्र नभएर पढेलेखेका जाने बुझेकाले पनि सरसफाई व्यवहारमा खासै परिवर्तन गरेको भने पाइएको छैन । अन्य कुराहरु त छोडौँ धेरैलाई फोहोर फाल्ने ठाउँ कहाँहो भन्ने जानकारी समेत छैन् ।
आफुले कुनै बस्तु प्रयोग पश्चात त्यसबाट निस्किएको फोहोर डस्टबिनमा नफाली सोझै सडकमा फाल्ने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा हरेक वर्ष वर्षा याम शुरु हुनु अघि नगरका साना तथा ठूला नालाहरुको सफाई गर्दै आएको छ तर शिक्षित वर्गले नै नालामा फोहोर फाल्नाले नगरले गरेको सरसफाईलाई चुनौति पनि दिईरहेको छ ।
सरसफाईलाई अझै पनि गौण विषयकै रुपमा लिइएको पाइन्छ । सरसफाई हामीले सोचेजस्तो यति सरल विषय चाहिँ पक्कै होइन । यो एक वृहत विषय हो । सुरक्षित पिउने पानीमा पहुँच र मानव मलमुत्रको समुचित व्यवस्थापन, ढल निकास तथा फोहर व्यवस्थापनका साथै एक व्यक्ति, परिवार, समाज तथा राष्ट्रको स्वास्थ्य सुधारको लागि गरिने तथा अपनाइने सम्पूण क्रियाकलापहरु, अभ्यास तथा आचरणको समग्र प्याकेज हो सरसफाई ।
मानव विकासको लागि यो एक प्रणाली हो, विकासको केवल एक अङ्ग मात्र होइन प्रमुख पूर्वाधार हो । हामी स्वस्थ रहनका लागि केही आधारभूत ज्ञान, व्यवहार तथा व्यवस्था जरुरी रहन्छ ।
सरसफाई मानव विकासको एक प्रमुख पूर्वाधार हो, जबसम्म मानव विकास हुँदैन तबसम्म अन्य विकासको मूल्य र औचित्य कम नै हुन्छ । अवश्य नै सरसफाईको गरिबी न्यूनीकरण तथा उत्पादकत्वमा बृद्धि, जीविकोपार्जन, पोषण तथा जनस्वास्थ्य सुधार, मानव विकासमा अतुलनीय भूमिका रहेको हुन्छ । यसका साथै महामारी तथा प्रकोपको समयमा सरसफाईको महत्व झनै बढ्नुका साथै स्वस्थकर सरसफाई आनी-बानी संवेदनशील र सचेत भई अपनाउन अपरिहार्य रहन्छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा प्राप्त मात्रामा जनशक्ति परिचालन गरिरहेको छ । तर पनि फोहोर व्यवस्थापन चुनौतिपुर्ण बनिरहेको छ । बजार क्षेत्रमा अव्यवस्थित रुपले फालिने फोहरले गर्दा स्वास्थ्यमा असर मात्र नभएर दुर्गन्ध पनि फैलिरहेको अवस्था छ । सरसफाईकालागि हरेक नागरिक जागरुक हुनुपर्नेमा नगरलाई मात्र दोष दिने प्रवृद्धि देखिदैँ आएको छ ।
आफ्नै घर आसपासमा फोहोर गर्ने र नगरालाई सराप्ने गलत प्रवृद्धिले गर्दा सफा र स्वच्छ वातावरण हुन सकिरहेको छैन । सरसफाईकालागि हरेक नागरिकमा चेतना हुने आवश्यक छ । नगरले मात्र सरसफाईमा ध्यान दिएर हाम्रो क्षेत्र सफा हुदैँन । यसकालागि हरेक नागरिकले सरसफाई गर्न जरुरी छ । सरसफाईकालागि विद्यालयले पनि अह्म भुमिका खेल्न आवश्यक छ ।
बालबालिकालाई सरसफाईकाबारेमा ज्ञान दिन सके दिर्घकालिन रुपमा फोहोरको व्यवस्थापन हुन सक्छ । तर, किताबि ज्ञानमात्र दिने शैक्षिक संस्थाले सरसफाईकालागि बालबालिकामा ज्ञान बाड्न सकेको छैन । तसर्थ, सरसफाईकालागि सानै देखि चेतना फैलाउनतर्फ विद्यालय लगायत परिवारले जोड दिन जरुरी छ । साझपख त्रिभुवन चोक तथा व्यापारीक क्षेत्रमा फोहोरको ढंगुर थुप्रिरहेको हुन्छ ।
केहि समयअघि नेपालगञ्ज उपमहानगरपालिकाले सचेतनाका साथ दिवा समयमा शहरका विभिन्न ठाउँमा ट्याक्टर बाट पनि फोहोर संकलन अभियान चलाएको थियो तर व्ययापारीहरुले जथावाफि बाटोमा फोर फाल्दा नगरको सफा सहरको अभियानमा प्रश्न चिन्ह् लागेको छ । साथै नगरले विभिन्न नियमहरु लगाएको भएपनि अहिले उक्त नियमको पालना गरिएको छैन ।
व्यवसायीहरुले आफ्नो फोहोर डस्टबिन राख्ने नियमलाई कडाईका साथ पालना गराउनतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, नागरिकमा सरसफाई सम्बन्धि चेतना फैलाउन पनि सरोकारवाला निकायले विशेष जोड दिन जरुरी छ । अतः सरसफाईमा सबैले ध्यान दिने हो नेपालगञ्ज उपमहानगरलाई सफ र स्वच्छ शहर बनाउन सकिन्छ ।