बाँके जेठ २७ गते ।
वर्षपिछे नेपालगञ्जमा हुने डुवानको समस्या मुक्त गर्न नगरले प्रत्येक वर्ष यहाँका नाला र ढल सरसफाई गर्दै आएको छ । वर्खा अगावै सफाईको कार्य सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले जनशक्ति खटाएको छ । बर्खायाममा नेपालगञ्जमा हुने डुबानबाट नगरवासीलाई जोगाउन नेपालगञ्जमा रहेका ठूला र साना नालाहरुको फोहर निकालिँदै छ ।
बैशाख ११ गतेदेखि ३५-४० जनालाई खटाएर नाला सफाईलाई तिब्रता दिएको वातावरण तथा सरसफाई शाखाका सुपरभाईजर दिपेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रत्योक वर्षझै यस वर्षपनि दुई चरणमा सफाई गरिदैछ । पहिलो चरणको नाला सफाईमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम सम्पन्न भएको हो।
उनले बसपार्क विद्युत प्राधिकरण देखि बागेश्वरी मन्दिर नजिकको ठूलो नाला हुदैँ दोन्द्रा नाला सम्म सफाई भईसेकेको हो । उनले लिमरा खबरलाई जानकारी गराउदैँ भने, ‘सुर्खेत रोडको गणेशमान चोक देखि दुवै तर्फको नाला नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को कार्यालय सम्म सफाई भइसकेको छ ।’
हाल एम्पी स्कुल सडकमा नाला सफाई भइरहेको छ । उनले भने, ‘भित्रीबाटोमा त्रिभुवन चोक, खजुरा रोड बाँकी छ । तेजनगर हुदैँ नन्दनीमिलबाट आएको ठूलो नाला पनि सफाई भईसकेको छ ।’उनले नगरको आदेश अनुसार जुन जुन ठाँउमा समस्या रहेको छ त्यहाँ सफाई अभियान जारी नै रहेको बताए ।’
गत वर्षको तुलनामा यस आर्थिक वर्षमा सरसफाई तथा वातावरण शाखालाई करिब ४० लाखको आधा जति बजेट विनियोजन गरिएको बताइएको छ । उनले भने, ‘यो भन्दा अगाडि ४० लाख थियो । अहिले २० लाख मात्रै छ । जसमा माटो उठाउने देखि लिएर सरसफाई गर्नुपर्नेछ । यसैभित्र रहेर औजार समेत खरिद गर्नुपर्नेहुन्छ ।’
बजेट घटेर आउँदा कार्यसम्पादनमा झनै चुनौती बढेको उनले जानकारी गराए । ट्राफिक व्यवस्थित नहुदाँ समेत फोहर उठाउन समस्या आउने गरेको श्रेष्ठले बताए । उठाएको माटो र फोहर नगरमा खाली वा खाल्डाहरुमा व्यवस्थापन गर्ने गरिएको छ ।
उनका अनुसार नगरमा २५ देखि ३० टन फोहर दैनिक रुपमा संकलन हुने गरेको छ । उनले नगरले प्रत्येक वर्षका लागि डुवान व्यवस्थापनका लागि २० देखि २५ लाख बजेट छुट्याएर राख्ने गरेको जानकारी गराए ।
असार मसान्तको २५ गते सम्म नगरका सबै नाला सफाई गर्ने गरी कार्य जारी रहेको उक्ता शाखाले जनाएको छ । खजुरा रोडमा रहेको पुरानो नालाका कारण वर्खामा निकै सास्ती खेप्नुपरेको हुन्छ । न्यूरोड, सब्जीमण्डी लगायतको स्थानमा प्रत्येक वर्ष नगरवासीलाई सास्ती हुने गरेको हुनले नगरले त्यसअघि नै नाला सफाई थालेको हो ।
बर्खायाममा सरसफाई शाखालाई नाला सफाई गर्न नै चुनौती हुनेगरेको बुझिएको छ । श्रेष्ठले भने, ‘प्रत्येक वर्ष नालाको छेउमा घर निर्माण भइरहेको हुन्छ । जसका कारण जेसिबी लैजान समेत समस्या हुने गरेको छ । दुवै तर्फ घर हुँदा नालामा औजार लैजान नै मुख्य चुनौती हुन्छ ।’
सडकमा निर्माण सामाग्री थुपार्ने प्रविद्धका कारण पनि नालाहरु बन्द हुने गरिएको श्रेष्ठले गुनासो गरे । उनले भने, ‘घर १० दिन बनाउनुपर्ने भएपनि त्यस अगावै बाटोमा निर्माण सामाग्री थुपार्ने गरिएको छ । जसका कारण नाला पनि बन्द हुन जान्छ । अन्त्यमा नगरलाई उठाउन जानुपर्छ ।’
निर्माण व्यसायीले नाला निर्माण क्रममा ढक्कन हाल्ने क्रममा बासका टेकाहरु ननिकालेको हुनले पनि सफाई गर्न निकाकै चुनौती हुने गरेको छ । नगरमा नाला माथि रहेको सिलेभ (ढक्कन)को धेरै लम्बाई भएका कारण त्यस भित्र छिर्न समेत गाह्रो भएको पाइएको छ ।
सुपरभाइजर श्रेष्ठले भने, ‘ढक्कन ३-३ मिटरमा राख्नुपर्छ । यहाँ १० मिटरको ढक्कन छन जसमा मान्छे छिर्न समेत सक्दैन ।’नगरले भ्याकुम जस्तै नाला सफाई गर्न नयाँ प्रविधिका औजार ल्याउनुपर्ने सरसफाई शाखाको माग छ । श्रेष्ठले प्राविधिक शाखाले समेत सरसफाई शाखा संग समन्वय गर्नुपर्ने बताए ।
उनले भने, ‘नाला सफाई गर्न चनौती हामीलाई हुन्छ । त्यस कारण ३-३ मिटरमा नालाको ढक्कन राख्नुपर्छ ।’सरसफाई शाखालाई निर्वाचित जनप्रतिधिले समेत साथ र सहयोग गरीरहेको बुझिएको छ ।