नेपालगन्ज जेट २३ गते ।
नेपालगन्ज उप–महानगरपालिका बाँकेले वर्षाको समयमा ढल र नाला थुनिएर पानीले सहर जलमग्न हुने देखिएपछि ढल र नाला सरसफाइ गर्न थालेको छ । नेपालगन्ज सहरमा बस्ने मानिसहरुले सडक वरपर छेउछाउमा जथाभाबी प्लास्टिकका थैली, बोतल, लगायत घरबाट निस्कने फोहर फाल्ने आनीबानीले ढल र नाला थुनिएरकाले वर्षाको समयमा पानीले सहर जलमग्न हुने भएकाले ढल र नालाको सरसफाइ गर्न थालिएको हो ।
नगर प्रमुख प्रशान्त विष्टले केही दिन अघि उप–महानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न निर्देशन दिएका छन् । नगर प्रमुख विष्टले ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा नेपालगन्ज सहर जलमग्न हुने सम्भावना देखिएकोल केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसीबी मार्फत सरसफाइको काम सुरु गरिएको बताएका छन् ।
नगर प्रमुख विष्टले भने ‘सडकको नालामा नबग्ने, नकुहिने जस्ता फोहर जथाभावी फ्याँक्नु हुँदैन भन्ने कुरा सबैलाई थाहा छ, तर सबैले फ्याँकी रहेका छन् । वर्षा हुनु भन्दा पहिले ढल र नाला सफा गर्नु र गराउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ । तर न कसैले यस्तो काम गर्छ नगराउन कुनै पहल गर्छ । पोलोथिन र प्लास्टकिका टुक्राटाक्री आदिले नाला थुन्छ । यो गलेर जाँदैन भन्ने कुरा पनि हामी नगरबासी सबैलाई थाहा छ ।’
नगर प्रमुख विष्टले फोहरले हाम्रो सहर कुरूप हुँदै गएको बताउँदै भने ‘जताततै फोहर छ । फोहर गर्ने हामी नै हो । हामी करोडौँ रुपैयाँ पर्ने घरमा बस्छौँ, तर फोहर घरै अगाडि फाल्छौँ । उल्टै उप–महानगरपालिकाले सफा गरदिएन भनेर गुनासो गरिरहन्छौँ । आफैँ व्यवस्थापन गर्न सकिने फोहर पनि व्यवस्थापन गर्दैनौँ । चाउचाउ खाँदै पानी पिउँछौँ पानी सकिएपछि बोतल सडकमै फालिदिन्छौँ ।
यस्तो व्यवहारले अरूलाई अप्ठ्यारो परेको हुन्छ । हाम्रो गलत आचरणकै कारण ढल र नाला फोहर भएका हुन् । सहर बजारलाई कुरूप बनाउनु हाम्रै हात छ । हामीमा रहेको यस्तो आचरण सुधान गर्न अति आश्यक छ । जथाभाबी फोहर थुपार्ने पनि हामी, नगर सफा भएन भन्ने पनि हामी । आफूलाई पनि असभ्य नागरिक भनेर नेपालगन्ज सहर चिनाइरहेका छौँ । फोहरमैला ढल र नाला सरसफाइ व्यवस्थापनमा जुनसुकै फोहर जतासुकै फ्याँक्ने हाम्रो संस्कार छ । माटोमा नगल्ने प्रकारको प्लास्टिक तोकएिको ठाउँमा फ्याँके फोहर मैला व्यवस्थापनमा ठुलो सहयोग पुग्न जान्छ ।
नेपालगन्ज सहर सफा देखियो भने बाहिरबाट घुम्न आउने मान्छेको मुखबाट सुन्न पाइन्छ सभ्य अनुसाशन समाज सधैँ सफा रहन्छ । अर्थात यो सहरका मान्छेहरू कस्ता सभ्य रहेछन् ।तर आज नेपालगन्जको सहर सबै फोहर छ । फोहरमैला व्यवस्थापन हाम्रो लागि चुनौती नै भएको छ । फोहरको थुप्रोले मन खिन्न बनाइ दिन्छ । हामी कहाँ आउने विदेशी पाउनाहरूको लागि झन् कस्तो होला रु हामीले फोहर नै गरेनौँ भने फोहरमैला व्यवस्थापन पनि सरल भएर जान्छ ।
कुनै सामान खरदि गर्दा हामीले पोलिथिनको थैली सहित सामान लिएनौँ भनेपनि हामीले फोहरमैला व्यवस्थापनलाई सहयोग गरेको ठहर्छ । कुनै पनि सामान प्रयोग गर्दा वेस्टेज नगर्ने, गर्नै परे पनि न्यूनतम प्रयोग गर्ने, वेस्टेज सामानलाई सकेसम्म पुनः प्रयोग गर्न कोसिस गर्ने वा पुनः प्रशोधन गरी केही उपयोगी सामान बनाई प्रयोगमा ल्याउने ग¥यौँ भने यसबाट हाम्रो घर, गाउँ र समाज, सहर, बाटो सफा रहन्छ ।
थोरै मात्रामा भए पनि फोहरमैला व्यवस्थापनलाई सहयोग पुग्न जान्छ । फोहरको कारण हामी आफैँले गर्दा सडकमा हिँडदा दुर्गन्धले नाक खुम्च्याएर मुख छोपेर हिँड्न परेको छ । तर, हामी कहाँ नगर क्षेत्रको फोहरले सबैलाई पीडा भएको छ ।’
उप–महानगरपालिकाको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले ढल र नालाका सरसफाइ कार्य क्षेत्र १ सब्जीमण्डीदेखि पासाङल्हामु रोड हुँदै भेरी प्राविधिकदेखि नयाँ बस्ती नाला, २ तालिम केन्द्रदेखि कर्णाली विकास बैंक दुवैतर्फ नाला, ३ एनएमबी बैंकदेखि गणेशमान चोकसम्म, दुवैतर्फ नाला,४ त्रिवेणीमोडदेखि चारवाहिनी व्यारेकसम्म दुवैतर्फ नाला, ५ वीपी चोकदेखि सम्सान घाटसम्म दुवैतर्फ नाला, ६ वडा प्रहरीदेखि एमपी स्कुलसम्म दुवैतर्फ नाला, ७ वीरेन्द्र चोकदेखि खजुरा रोड हुँदै नन्दनी मिलसम्म दुवैतर्फ नाला, ८ बसपार्क विद्युतदेखि बागेश्वरी हुँदै चुके नालादेखि दोन्दाह नालासम्म, १० वीपी चोकदेखि पश्चिम मुक्तिपु हुँदै करमोहना ठुलो नालासम्म, ११ चौलिकादेखि सीमा प्रहरी कार्यालयसम्म, भन्सारदेखि वडा नम्बर १५ सम्म, १२ आँखा अस्पतालदेखि फुल्टेक्रा व्यारेक दुवै नाला, १३ अन्य आवश्यक आदेश अनुसार आसपास ढल र नाला सरसफाइ गरिने बताएका छन् ।
शाखाका प्रमुख डिसीले जेसीबी लगायत साधन मार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको बताएका छन् । शाखाका प्रमुख डिसीले उप–महानगरपालिकाले ढल र नाला सरसफाइका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताएका छन् । नेपालगञ्ज बजारबाट मात्रै दैनिक २० टन फोहरमैला सङ्कलन हुने गरेको छ । सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गरिएको छ ।