नेपालगञ्ज बैशाख २ गते।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तरगत नेपालगञ्ज –१७ परसपुरमा कार्यक्रम सञ्चालन गरिएको छ । नेपालगञ्ज –१७ परसपुर वडामा गठन गरिएको बाल अधिकार चेतना समूह १७ नम्बर वडाको कार्यालयको सहकार्यमा वडा स्थित राम जानकी मंदिरको धर्मशालामा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा नेपालगञ्ज बाँके प्रमुख पवित्रा पुरी द्वारा कार्यक्रममा बाल विवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनिकरणको लागि चाल्नु पर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा सहभागी बालबालिका स्वयम्ले बाल विवाहको कारण परेको असरहरुको बारेमा उदाहरण प्रस्तुत गर्दै बाल विवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सहजीकरण गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक नेपालगञ्ज उपमहानगर शाखा अधिकृत रन्जु पाण्डेले मदरसा र विद्यालयमा बाल विवाहको अवस्थाको बारेमा समेत छलफल र जानकारी दिनुभएको थियो ।
नेपालगञ्ज १७ नम्बरका कार्यबाहक वडा अध्यक्ष कौशर अलि बेहनाले हाम्रो वडामा नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुले बालबालिका ज्ञान र चेतना बृद्धि भएको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।
अधिवक्ता सुनिता शर्माले साहजीकरण गर्दै कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण बाल विवाह भइरहेको भन्दै उहाँले बाल विवाह न्यूनिकरणको लागि स्वयम् बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन र मुलुकी अपराध संहिता ऐन २०७४ को बारेमा बताइन् ।
साईगाउँ प्रहरी चौकीका इन्चार्ज वरिष्ठ साई अमर बहादुर रावतका अनुसार गरिवी, छोराछोरीमा भएको विभेद, अभिभावकमा शिक्षा र चेतनाको कमी, यौन तथा प्रजनन् स्वास्थ्यबारे जानकारी नहुनु, मायाप्रेम, बेरोजगारसँगै पछिल्लो समय सामाजिक सञ्जालका कारण समेत बालविवाह हुने गरेको रावतले बताए ।
मधेसी गाउँहरुमा अझै बालविवाह हुने गरेकोले यस्ता सचेतना तालिम निकैनै प्रभावकारी हुने स्थानीय सहभागीले बताए । सहभागीहरुले बालविवाह अन्त्य गर्नका लागि सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए। तालिममा स्थानीय जनप्रतिनिधि मुस्लिम धर्मगुरु लगायत गाउँबाट स्थानीयको सहभागिता रहेको थियो।