जानकी बैशाख ५ गते ।
बाँकेको जानकी गाउपालिका वडा नंबर दुई नेवाजीगाउँमा आगलागीबाट १५ विघाको गहुँबाली नष्ट भएको छ । मंगलबार दिवसों साढे तीन बजे तिर गरीब किसानहरुले १५ विघामा आफ्नै खेतमा लगाएको गहुँबालीमा आगलागी भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।
आगलागीबाट अन्दाजी दुई लाख रुपैयाँ बराबरको गहुँ बाली नष्ट भएको बताइएको छ । स्थानीय स्रोतका अनुसार नेपालगञ्ज १० गोसाई गाउँ बस्ने २४ बर्षीय राम कुमार भुजुवाले आफ्नै खेतबारी सफा गर्ने क्रममा आगो लागेको हुंदा जानकी वडा नम्बर २ नेवाजीगाउँका ११ जना गरीब किसानको गहुँबालीमा आगो सल्किएको प्रहरीले जनाएको छ ।
आगलागी भएको सूचना पाए लगत्तै प्रहरी चौकी बेलभारबाट प्रहरी सहायक निरीक्षक रेशम बहादुर खड्काको कमाण्डमा ५ जनाको टोली र साईगाउँ प्रहरी चौकी इन्चार्ज वरिष्ठ सई अमर रावत सहितको टोली आगलागीस्थलमा खटिएको थियो ।
प्रहरी, दमकल र स्थानीयहरुको सर-सहयोगमा करिब एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । गरिब किसानले अधियामा लगाएको १५ बिघा गहुँ बाली सखाप भएको वडा अध्यक्ष चंद्रिका प्रसाद गुप्ताले लिमरा खबर लाई जनाएको छ ।