जानकी चैत ३० गते।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ बडैया गाउँमा लागेको आगो नियन्त्रणमा आएको छ । जानकी गाउँपालिका वडा नम्बर १ बडैया स्थित जगदीश कांदुको कच्ची घरमा ९ बजे लागेको आगो केही बेर अघि नियन्त्रणमा आएको हो।
सशस्त्र प्रहरी बल नेपाल बढैया बीओपीका सशस्त्र प्रहरी निरीक्षक जलान्धर केसीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोली र साईंगाउँ प्रहरी चौकीका इन्चार्ज अमर रावतको संयुक्त टोली र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो।
आगलागीबाट छ वटा बाख्राको ज्यान गएको र चारवटा बाख्रा घाइते भएको तथा अग्नि नियन्त्रकको प्रयासले मानवीय र अन्य क्षति हुनबाट रोकिएको साईंगाउँ प्रहरी चौकीका इन्चार्ज अमर रावतले जनाएको छ । कच्ची घरमा क्षति भएको र त्यसको कारण भने खुल्न नसकेको बढैया बीओपीका सशस्त्र प्रहरी निरीक्षक जलान्धर केसीले बताए।