काठमाडौं चैत २६ गते ।
जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सांसद माननीय अब्दुल खान दुर्घटनामा परेका छन् । नेपालका पूर्व मन्त्री तथा उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका वर्तमान अध्यक्ष समेत रहेका खान । माननीय अध्यक्ष र उहाँको निजी सचिवालयका सदस्यहरु चढेको गाडी धादिङको कृष्णभिरमा सोमबार दुर्घटना भएको छ ।
इद मनाउन काठमाडौंबाट गृह जिल्ला बर्दिया जाने क्रममा खानको गाडी दुर्घटनामा परेको थियो । खानका निजी सचिवालयका कम्प्युटर अपरेटर जनमतका नेता अनवर खान ‘आजाद’का अनुसार विपरित दिशाबाट आउँदै गरेको तीव्र गतिको गाडीलाई रोक्न खोज्दा कार सडक डिभाइडरमा ठोक्किएको हो ।
दुर्घटनामा माननीय अब्दुल खान, चालक जनमत नेता आलिम मन्सुरी उर्फ ‘दिलदार’, निजी सचिव अतिउल्लाह मुस्लिम र कम्प्युटर अपरेटर जनमत क्रान्तिकारी नेता अनवर खान ‘आजाद’ घाइते भएका छन् ।
नेता अनवर खान “आजाद”का अनुसार सांसद खानको देब्रे हात र दाहिने हातको दुई औंला भाँचिएको छ । त्यस्तै कम्प्युटर अपरेटर अनवर खानको टाउकोमा गम्भीर चोट लागेको छ भने निजी सचिवको खुट्टा र कम्मरमा चोट लागेको छ । सोही क्रममा चालकको छाती र खुट्टामा गम्भीर चोट लागेको छ ।सबैको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताए ।