मंसूर अली इद्रिशी
बांके चैत २ गते-जानकी गाउँपालिका वडा नम्बर ३ ले २०७९ सालको एसइई परीक्षामा उत्तीर्ण छात्राहरूलाई साइकल वितरण गरेको छ । जानकी ३ का वडा अध्यक्ष राजकुमार बर्मा (बाबु) ले शिक्षा क्षेत्रमा सहयोग पुर्यारउने उद्देश्यले वडा भित्रका रहेका बन्जारेगाउँ मा.वि. का ७ जना छात्रालाई साइकल वितरण गरिएको जानकारी दिनुभयो ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खानले एसइईपछिको अध्ययनलाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो । प्रत्येक घरको छोरीलाई विद्यालय र उच्च शिक्षाको पहुँचमा ल्याउन उक्त योजना लागू गरिएको अध्यक्ष खानको भनाइ छ ।
उहाँले भन्नुभयो, “अहिले कक्षा १० सम्म अध्ययन गर्न आफ्नै वडाभित्र रहेको विद्यालयमा पुग्न सहज थियो तर कक्षा ११ देखिको माथिको पढाई अन्य वडामा जानुपर्ने भएकाले साइकलको अभावले कोही शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले एसइई परीक्षामा उत्तीर्ण भएका छात्राहरूलाई साइकल वितरण गरेका छौँ ।छोरीलाई प्रोत्साहन गर्न यस्तै छोरी जन्म प्रोत्साहन, छोरी विवाह प्रोत्साहनलगायत विभिन्न योजना ल्याइ अघि बढेको अध्यक्ष खानले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाको कार्य पालिका सदस्य राम आचलले हरेक घरको छोरीले समाज र आफ्नो भविष्यका लागि उच्च शिक्षा हासिल गरी शिक्षित बन्न गाउँपालिकाले विभिन्न योजनाहरू ल्याइरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य राजेन्द्र शिंह बोल्दै गाउँपालिकाभित्र रहेका हरेक छोरीलाई उच्च शिक्षा प्रदानको लागि गाउँपालिकाले विभिन्न योजना ल्याएको र त्यसमा अभिभावकको सहकार्य रहेको जानकारी दिनुभयो । हाम्रो विद्यालयमा कक्षा १० मा एसइई परीक्षामा उत्तीर्ण भएका ७ जना छात्रालाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक आदित्य वर्माले जानकारी दिनुभयो । साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय जान सहज हुने उनले बताए ।