काठमाडौं चैत १ गते ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरीका जिल्ला इन्चार्जहरूलाई भर्चुअल संम्बोधन गरेका छन् । गृह मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री लामिछानेले ‘९० दिनमा कायापलट’ हुनुपर्ने उल्लेख गरे ।
उनले भने,‘तस्कर र गुण्डा तपाइले चिन्नुभएकै छ, मैले चिनाउनु पर्दैन ।’ राजस्व छल्ने र तस्करी गर्नेलाई नियन्त्रण गरी कानुन अनुसार कारबाही गर्न आफूलाई सोध्नु नपर्ने उनले बताए । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन।
गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन। गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ। कति दिन रहन्छु थाहा छैन। जति रहन्छु राम्रो गर्छु। नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन।
तपाईंहरुको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस्। तर, तपाईंको स्वार्थमा उनीहरु (राजनीतिक नेतृत्व)बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन। अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहिँ कारबाही गर्छु।