नेपालगंज माघ १० गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनागाउँमा माघ ८ गते बेलुका भएको कुटपिटमा संलग्नलाई पीडित पक्षले कारवाहीको माग गरेका छन् । छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्री राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा नेपालगन्जमा गरिएको र्यालीपछि स्थानीयले आफूहरुलाई कुटपिट गरेको भन्दै पीडितले बाँके प्रशासन र बाँके प्रहरी समक्ष निवेदन दिएका छन् ।
घरको आंगनमा परिवार सहित बसिरहेको बेला र्यालीमा सहभागीले विवाद गरि आफूहरुमाथि कुटपिट गरेको लिमरा खबरलाई जानकारी गराउदैँ पीडित मोहम्मद हासिम शाहले वताए । उनले उक्त विवाद धार्मिक आस्थाका आधारमा नभई ब्यक्तिगत रिसइवीका कारण भएको बताए ।
हामीहरु आफ्नो घरमा बसिरहेका थियौँ, एउटा समुह आएर हामीमाथि अचानक केही व्यक्ति आएर कुटपिट गरेका थिए ।’ उनले भने, ‘आक्रमण धार्मिक नभई राजनीतिक प्रतिसोध साध्ने खेल हो ।’ एउटा पक्षले आफूहरुलाई ज्यान मार्ने धम्की समेत दिएको बताए । ‘आज तिमिहरु बाच्यौँ, कुनै बेला तिमिहरुलाई ठिक पार्छौँ भन्ने धम्की दिएका छन्,’ प्रहरी र प्रशासनमा बुझाएको निवेदनमा उल्लेख छ ।
नेपालगन्ज-२१ का वडा अध्यक्ष राजकुमार साहुलाई समेत पीडितले विपक्षी बनाएका छन् । वडा अध्यक्षका कारण घटना घटेको बताउँदै उनीहरुले घाउ जाँच गरि आक्रमणकारीलाई कारवाहीको माग गरेका छन् । उक्त घटनामा पाँच जना घाइते भएका छन् । अधिकांशको टाउकोमा चोट लागेको छ ।
यसैवीच, सोही घटनामा आठ जना घाइते भएको अर्को पक्षले दावी गरेको छ । आठ जना घाइते भएको उक्त घटनामा इस्लाम धर्मावलम्वीले आक्रमण गरेको दावी उनीहरुको छ । मुस्लिम समुदायका केही व्यक्तिले आएर कुटपिट गरेको चन्द्र रैदासले बताए । ‘परिवार सहित आँगनमा बसिरहेको थियौँ । अचानक केही व्यक्ति आएर कुटपिट गरेर भागे,’ उनले मिडिया समक्ष व्यान गरेका छन ।