एजेन्शी माघ ७ गते ।
भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा भोली हुने प्राणप्रतिष्ठा समारोहका लागि कडा सुरक्षा व्यवस्था गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अयोध्यामा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछन् भने १० हजार सीसीटीभीबाट निगरानी गरिनेछ । उत्तर प्रदेशका एटीएस कमाण्डो र जवान आर्टिफिसियल इन्टलिजेन्स र एन्टी ड्रोन प्रणालीको माध्यमबाट सुरक्षामा खटिनेछन् । १२ एन्टी ड्रोन प्रणालीले मन्दिरको ५ किलोमिटर आसपासमा उड्ने ड्रोनलाई निष्क्रिय गर्न सक्ने बताइएको छ ।
अत्याधुनिक हतियार बोकेका कमाण्डोले बुलेटप्रुफ गाडीमा गस्ती गर्नेछन् । यस्तै, श्रद्धालुको बढ्दो घुइँचोलाई मध्यनजर गरी अयोध्यामा भोलिदेखि नै सवारी आगमन निषेध गरिएको छ । प्राणप्रतिष्ठामा सहभागी हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि २ सय ६० उच्च सुरक्षा अधिकारीका साथै १ हजार कन्स्टेबल तैनाथ गरिनेछन् ।
केन्द्र सरकारले पर्सि देशभरका सरकारी कार्यालयमा आधा दिनको बिदा दिएको छ । यस्तै, दिल्ली, उत्तर प्रदेश, गुजरात, छत्तीसगढ, मध्यप्रदेश, हरियाणा, उडिसा, आसाम, उत्तराखण्ड, महाराष्ट्र, राजस्थान, गोवा, त्रिपुरा, चण्डीगढ, पुडुचेरी राज्यले बिदा घोषणा गरेका छन् । बैंकहरु पनि बन्द रहनेछन् ।
यता, केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले रामन्दिरसँग सम्बन्धित गलत खालका सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई चेतावनी दिएको छ । यस्तै, प्राणप्रतिष्ठा समारोहका लागि केन्द्र सरकारले प्रतिष्ठित उद्योगपति, सेलिब्रेटी, राजनीतिज्ञलगायत गरी ५ सय जनालाई आमन्त्रण गरेको पीटीआइले जनाएको छ । जसमा अर्बपति मुकेश अम्बानी, टाटा समूहका रतन टाटा, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त, अनुपम खेरलगायत छन् ।