नेपालगन्ज, माघ २ गते ।
सशस्त्र प्रहरीले बाँकेका विभिन्न स्थानबाट बीस लाख रुपियाँ बढीको भन्सार छलिगरी भारतबाट नेपाल ल्याइएका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके मातहतका युनिटहरुले फेरी २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएका छन् ।
जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाईकल पार्ट्स, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडीसहित अवैध कुखुराहरु गरी २० लाख ५ हजार ७ सय ८० बराबरको सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह, बिओपी जयसपुर र बिओपी कालाबन्जरबाट खटिएको टोलीले बाँके जिल्लाका विभिन्न स्थानहरुबाट भारतबाट अवैध रुपमा चोरीपैंठारी गरी नेपालतर्फ ल्याउदै गरेको १ लाख ४१ हजार ८० मूल्य बरावर मोटरसाईकलका पार्ट्सहरु, करीव २ लाख ४२ हजार मूल्यको काँस तथा पित्तलका भांडाहरु, ९० हजार मुल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवाहरु र ५२ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।
यसैगरी नरैनापुर गाउंपालिका वडा नम्बर ६ स्थित नन्कउपुर ईलाकाबाट भे १ च ३६१५ नम्बरको म्याजिक गाडीमा भारतबाट नेपालतर्फ ल्याउंदै गरेको बिलबिजक नभएको अन्दाजी ३ लाख २० हजार मुल्य बराबरको ८ सय के.जी. अवैध बोईलर कुखुराहरु र कुखुरा बोक्न प्रयोग गरिएको १० लाख मूल्य बराबरको गाडीसहित चालक बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका ७ बस्ने बर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको छ ।
सशस्त्र प्रहरीको सक्रियताकै कारण दैनिक ठुलो परिमाणमा तस्करीका सामान बरामद हुन थालेपछि बांकेका तस्करहरुको निद्रा हराम भएको छ । पछिल्लो समय बाँकेमा भारतीय कपडा मात्र नभई किराना, कस्मेटिक्स,हार्डवेयर,लगायत अनेकौं किसिमका सामानको तस्करी बढेपछि ।नेपाल भारत सीमानाकामा खटेका सशस्त्र प्रहरी बिओपीले तस्करी नियन्त्रणमा कडाई समेत गरेको छ ।