नेपालगन्ज पुष ११ गते।
सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बाँके जिल्ला अदालतले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का पूर्ब वडाध्यक्ष अजयकुमार पाठकसहित २१ जनालाई निर्दोष ठहर गरेको छ। नेपालगन्ज जिल्ला प्रशासन नजिकै रहेका सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४३ करोड बराबरको रकम अपचलन भएको मुद्दामा करिब ४ वर्षपछि बाँके जिल्ला अदालतले मुद्दाको फैसला गरेको हो।
अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले बुधबार पाठक सहित २१ जनालाई निर्दोष ठहरको आदेश’ जारी गरेको अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिए। श्रेस्तेदार वाग्लेका अनुसार निर्दोष ठहर हुनेमा सहकारीका पूर्ब सञ्चालक समिति र पूर्ब कर्मचारीहरु रहेका छन्।
आरोपित मध्य पूर्ब वडाध्यक्ष अजयकुमार पाठक नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक बर्मा, विजयकुमार पाठक लगाएत २१ जनाले सफाई पाएको श्रेस्तेदार वाग्लेले जानकारी गराए । अदालतले दिएको निर्देशनात्मक आदेशमा सहकारी संस्थाका सञ्चालक समिति उपर मुद्दा परी अन्तिम भई नसकेकाले सो समिति विघटन गर्न आदेश दिइएको छ।
सहकारी डिभिजन कार्यालयका प्रमुख, लुम्बिनी प्रदेश सरकारका सहकारी विभागका रजिष्टार, जिल्ला प्रशासन कार्यालय बाँकेका राजपत्रांकित कर्मचारी प्रतिनिधि, नेपालगन्ज उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख, जाहेरवाला ५ जना प्रतिनिधिसमेत रहने गरी तदर्थ समिति गठन गर्ने र विशेष साधारण सभा आव्हान गरी सञ्चालक समिति गठन प्रक्रिया सुरु गर्नुपर्ने आदेशमा उल्लेख छ।
सञ्चालक समिति गठन भएपछि ऋण लिई ऋण तिर्न बाँकी रहेको ऋणीबाट सावा र ब्याज दाखिल गर्न सूचना जारी गरी दाखिला भएको रकम बैंक खातामा राखी ऋणीको धितो फुकुवा गरिदिन, संस्थाको चल/अचल सम्पत्ति खोजी गर्न, प्रचलित सहकारी ऐन/कानुन बमोजिम सहकारी संस्थाको कोष अभिवृद्धिका लागि सम्बन्धित निकायबाट अनुदान सहयोग प्राप्त गर्नेतर्फ अग्रसर रहन, संस्थामा प्राप्त हुने रकमबाट प्रस्तुत मुद्दाका जाहेरवालाको रकमको सावाँ ब्याज फिर्ता माग्न आएमा निजहरुलाई फिर्ता दिई सो को विवरण अदालतको तहसिल शाखामा दिन पनि आदेश दिइएको छ।
श्रोत- नागरिक दैनिकबाट