नयाँ दिल्ली मंसिर २८ गते ।
भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लंघनपछि अवरुद्ध भएको छ। दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए। भारतको तल्लो सदन लोकसभामा बुधबार अनौठो घटना भयो । सन् २००१ डिसेम्बर १३ मा भारतीय संसदमा हमला भएको २२ वर्ष पुगेकै दिन बुधबार लोकसभाभित्र र बाहिर धुवाँ उडाउँदै केही व्यक्तिले हङ्गामा मच्चाएका हुन् ।
शून्य समय चलिरहेका बेला दर्शकदीर्घाबाट दुई व्यक्ति सभामुखको कुर्सीतिर दौडिएपछि केहीबेर हङ्गामा भयो । सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो। साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो। तीमध्ये एक जना ओभरहेड दर्शक दीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेका थिए।
भारतीय सञ्चार माध्यमका अनुसार संसदको भिजिटर ग्यालरीबाट त्यसरी दौडने दुई व्यक्ति मनोरञ्जन र सागर शर्मा थिए । यीमध्ये एक इञ्जिनियरिङका विद्यार्थी हुन् । सुरक्षाकर्मीले उनीहरूको मोबाइल जफत गर्नुका साथै सीसीटीभी फुटेजसमेत जाँच गरेको थियो । यो घटनाको अनुसन्धानका लागि प्रहरीले जाँचबुझ समितिसमेत गठन गरिएको जनाएको छ ।
बुधबार नै संसद बाहिर पनि एक महिला र पुरुषले संविधान बचाऔँ तानाशाही खत्तम गरौँ भन्ने नारा लगाउँदै धुँवाको मुस्लो उडाएका थिए । नीलम र अमोल नाम गरेका यी दुई व्यक्तिलाई पनि दिल्ली प्रहरीले पक्राउ गरेको छ ।
जुत्ता खोल्दै गरेका व्यक्तिलाई कांग्रेस सांसद गुरजित सिंह औजला र बसपाका सांसद मलूक नागरले दह्रोसँग अँठ्याए । उसले जुत्ताबाट निकालेको वस्तुबाट धुँवा आउँदै थियो, सांसदले त्यसलाई समातेर बाहिर हुत्याइदिए । उनीहरूले त्यो चिज बम भएको हुन सक्ने भन्दै अन्य सांसदको सुरक्षाका लागि जोखिम मोलेको बताएका छन् । घटना हुँदै गर्दा केही सांसदबीच भने भागदौड मच्चिइसकेको थियो ।
संसदमा यस्तो उट्पट्याङ घटना कसले किन गराएको भन्ने अझै खुलिसकेको छैन । तर, यो घटनाले भारतीय संसदको सुरक्षा व्यवस्थामाथि भने प्रश्न उठेको भन्दै सांसदहरुले सरकार र संसदीय नेतृत्वको आलोचना गरेका छन् । नयाँदिल्ली स्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औं वार्षिक दिवसमा यस्तो अवरोध भएको हो। उक्त हमलामा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए। उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो।
प्रधानमन्त्री मोदीले यसअघि बुधबार उक्त हमलाका पीडितहरूलाई श्रद्धाञ्जली दिएका थिए । उनले भने, ‘खतरासामु उनीहरूको साहस र बलिदान हाम्रो देशको स्मृतिमा सदाका लागि कोरिने छ।