बाँके मंसिर २२ गते ।
नेपाल–भारत खुला सीमानाका रहेको बाँकेमा राँगा तस्करी मौलाउन थालेको छ । सरकारले भन्सार छली तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई सीमा नाकामा खटाउने गरेको छ । बाँकेमा राँगा तस्करी मौलाउन थालेपछि जिल्ला प्रहरी कार्यालय बाँके एक्सनमा उत्रिएसँगै डुडुवा-६ मुन्सिपुरुवाबाट अवेध राँगा नियन्त्रणमा लिएको हो ।
नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा ४ वटा राँगालाई प्रहरीले अबैध नाकाबाट फेला पारेपछि यस्तो रहस्य खुलेको हो । डुडुवा गाउँपालिका वडा नम्बर ६ का स्थानीयका अनुसार तस्करले नेपाल र भारतका सिमास्थित सुरक्षा निकायसँग मिलेर राँगा तस्करी गर्दै आएका छन् । राँगा तस्करी गर्दा तस्करले सुरक्षाकर्मीसँग सेटिङ मिलाउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर ६ मुन्सिपुरुवाबाट बिहीबार राँगा बरामद गरेको हो । प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु फरार रहेको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएका राँगाको अंदाजी मुल्य १ लाख ४० हजार बराबर रहेको प्रहरीले अनुमान गरेको छ । पछिल्लो समयमा बाँकेमा सिमापारीबाट सशस्त्र प्रहरीकै मिलेमतोमा राँगा तस्करी हुने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
सशस्त्र प्रहरीलाई पनि तस्करी नियन्त्रण गर्ने अभिभारा दिएर अनुसन्धान सहितको जिम्मेवारीमा सीमा क्षेत्रमा परिचालन भए पनि सीमा नाकाबाट तस्करी र भन्सार छली नियन्त्रण हुन सकेको छैन । नेपालगंज भन्सार कार्यालयले पनि तस्करी नियन्त्रण गरी राजस्व असुली गर्ने जिम्मा पाएको छ । तर बाँकेमा यी निकायको मिलेमतोमा खुलेआम तस्करी भइरहेका दृश्य सबै नाकाहरुमा व्याप्त छन् ।