बाँके मंसिर २१ गते ।
नेपाल-भारत सीमा अन्र्तगत बाँके जिल्ला संग जोडिएका सीमा स्तम्भको निर्माण, मर्मत संभार एवं पुनःस्थापन थालिएको छ । बाँके जिल्लासँग जोडिएका ७१ वटा विजोर नम्बरका सीमा स्तम्भ नेपालपक्षबाट रंगरोगन एवं मर्मत थालिएको छ ।
बुधबारबाट एक समारोह बीच नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर स्थित ६५१/११ (३१) नम्बरको मुख्य सीमा स्तम्भको रंगरोगन गरी जिल्लाको सीमामा रहेका पिलरहरुको मर्मत संभार सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणले उक्त कार्य सुरु गरेको हो । यस अघि नापी बिभागबाट मर्मत संभार कार्य हुने गरेकोमा साल २०७७ साउन १९ को क्याविनेटको निणर्य अनुसार उक्त जिम्मेवारी शसस्त्र प्रहरी बललाई दिइएको थियो । जस पश्चात शसस्त्र प्रहरीले देशभर पहिलो पटक सीमा स्तम्भको रंगरोगन एवं मर्मत संभार सुरु गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले जानकारी दिए ।
एक समारोह बीच नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बाँकेका प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोराले संयुक्त रूपमा उक्त कार्य सुरु गरेको हो । बाँके जिल्लामा कुल ३ सय ११ वटा सीमा स्तम्भ रहेका छन । जसमध्ये जोर नम्बरका सीमा स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मत गरीसकेको छ ।
बाँकेमा ४ वटा मुख्य र ६७ वटा सहायक गरेर जम्मा ७१ वटा बिजोर संख्यामा सीमा स्तम्भ रहेका छन । बिजोर संख्यामा रहेका सीमा स्तम्भ नेपाल सरकारबाट गर्नुपर्ने भएकोले सोही अनुसार रंगरोगन एवं मर्मत सुरु गरिएको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपीका प्रमुख लगायत वडाध्यक्षहरुको उपस्थिति रहेको थियो।